आत्मसमर्पण गर्दै केजरीवाल, भन्छन्- देशलाई तानाशाहीबाट जोगाउन जेल जानुमा गर्व छ

नेपालभ्युज

आत्मसमर्पण गर्दै केजरीवाल, भन्छन्- देशलाई तानाशाहीबाट जोगाउन जेल जानुमा गर्व छ

काठमाडौं । कथित मदिरा घोटालामा भारतको सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तिहाड जेल जाने बताएका छन् ।

उनको अन्तरिम जमानत जुन १ सकिँदैछ ।

शुक्रबार जारी गरेको भिडियो सन्देशमा उनले भने, ‘सर्वोच्च अदालतले मलाई चुनाव प्रचारका लागि २१ दिन दिएको थियो र भोलि २१ दिन पूरा हुँदैछ र भोलि म दिउँसो तीन बजे आत्मसमर्पण गरेर तिहाड जेल जान्छु ।’

‘मलाई थाहा छैन यी मानिसहरूले मलाई यस पटक जेलमा कति दिन राख्छन्, तर मेरो मनोबल उच्च छ । देशलाई तानाशाहीबाट जोगाउन जेल जानुमा मलाई गर्व छ ।’ उनले यसअघि भने ।

केजरीवाल थप भन्छन्, ‘उनीहरूले मलाई धेरै तरिकाले झुकाउने, तोड्ने र चुप लगाउने प्रयास गरे तर, सफल भएनन् । जब म जेलमा थिएँ, उनीहरूले मलाई धेरै प्रकारले यातना दिए, उनीहरूले मेरो औषधि बन्द गरे । म २० वर्षदेखि गम्भीर मधुमेहबाट पीडित छु र १० वर्षदेखि दैनिक इन्सुलिन लिइरहेको छु । जेलमा धेरै दिनदेखि इन्सुलिन नहुँदा चिनी ३ सय नाघेको थियो । मेरो तौल ६ किलोले घट्यो ।’

‘अहिले म बाहिर छु, अझै वजन बढेको छैन । यो शरीरमा कुनै ठूला रोगको संकेत हुनसक्ने र धेरै परीक्षण गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।’ केजरीवालले भने ।

केजरीवाल १० मेमा जमानतमा छुटेका थिए ।

सशर्त जमानतमा अदालतले के भन्यो ?

अदालतले आफ्नो आदेशमा लोकसभा चुनाव प्रत्येक पाँच वर्षमा हुने एउटा महत्त्वपूर्ण लोकतान्त्रिक घटना भएको बताएको थियो । ‘केजरीवालको कुनै आपराधिक रेकर्ड छैन र ‘समाजको लागि खतरा’ होइन’ अदालतले भनेको थियो ।

अदालतले केही शर्तसहित धरौटीमा आदेश दिएको थियो । आदेशमा केजरीवाल मुख्यमन्त्रीको कार्यालयमा नजाने भनिएको थियो ।

दिल्लीका उपराज्यपालको स्वीकृति प्राप्त गर्न कुनै आदेशमा उनको हस्ताक्षर आवश्यक नभएसम्म कुनै फाइलमा हस्ताक्षर गर्ने छैनन् ।

केजरीवालले आफ्नो विरूद्धमा चलिरहेको हालको मुद्दाको बारेमा कुनै बयान दिने छैनन् र मुद्दासँग सम्बन्धित साक्षीहरूसँग कुरा गर्ने छैनन् । तर, केजरीवालले आफ्नो राजनीतिक गतिविधि जारी राख्न सक्छन् ।

लोकसभा चुनावको अन्तिम सातौं चरणको मतदान भोलि अर्थात् जुन १ मा हुँदैछ र अदालतको आदेश अनुसार केजरीवालले आत्मसमर्पण गर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved