काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ । बुधबार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो । तर, रिट निवेदन कर्ताले पेशी सारेका थिए ।
तर, बिहीबार पनि पोखरेलकै एकल इजलासमा पेशी तोकिएको हो । एउटै इजलासमा पेशी परेपछि हटाउने वा बहस गर्ने विषयमा आफूहरू छलफल गरिरहेको अधिवक्ता भट्टराईले बताए ।
न्यायाधीश सुनिलकुमार पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए । उनले बुधबार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका थिए ।
मुद्दा आज तेस्रो नम्बरमा छ । सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यसविरुद्ध रिट दायर भएको थियो ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपिठ भएको थियो ।
सर्वोच्च प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता गरेका थिए । रिटमा गृहमन्त्रीमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग गरिएको छ ।
Facebook Comment
Comment