काठमाडौं । कीर्तिपुरमा दुई समूहबीच ग्याङफाइट भएको छ । खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।
मंगलबार साँझ ७ बजेको समूहमा नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो । घटनामा संलग्न ९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार–१ घर भई गट्ठाघर बस्दै आएका २१ वर्षीय ध्रुवबहादुर विष्ट छन् ।
यस्तै बझाङको दुर्गाथली गाउँपालिका–७ घर भई पुतलीसडक बस्दै आएका २० वर्षीय उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भई मैतीदेवी बस्दै आएका २१ वर्षीय सुदिप गिरी छन् ।
त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भई रातोपुल बस्दै आएका २३ वर्षीय नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भई नयाँ बानेश्वर बस्ने २० वर्षीय तेज थापा, गैरीगंगा–९ घर भई च्यासल बस्ने २२ वर्षीय तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर भई बानेश्वर बस्दै आएका २१ वर्षीय सुनिल रोका छन् ।
प्रहरीले उनीहरुबाट खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेका सुदीप गिरीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट एक जनाको बाँया हात छिनेको छ ।
Facebook Comment
Comment