काठमाडौं । ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागूऔषध ब्यूरोले बिहीबार ती विदेशीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला, युगाडाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल छन् ।
काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट २ किलो ६५४ ग्राम कोकिन बरामद गरिएको छ ।
बैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी मुगालालाई सिनामंगलबाट पक्राउ गरिएको थियो ।

उनको तलासी गर्दा निजको पेटभित्र निलेको अवस्थामा केही रहेको हुनसक्ने शंकामा नेपाल प्रहरी अस्पताल महाराजगंज परिक्षण गर्दा कोकिन भेटिएको थियो ।
सेतो प्लास्टिकले ऱ्यापिङ गरी निलेर पेटमा ल्याइएका १ केजी २६० ग्राम बराबरको ९० वटा कोकिनका क्यापसुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, युगाडाकै लिलियान सुसन वानयाङजी जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी थिइन् । उनको शुटकेशमा ६३ वटा प्लाष्टिकले र्यापिङ गरिएका १ किलो ३९४ ग्राम कोकिन फेला परेको थियो ।

र, भारतीय नागरिक पललाई जेठ २ गते धोबिचौरबाट पक्राउ गरिएको थियो । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Facebook Comment
Comment