काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन्। उनले बिहीबार बिहान प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।
प्रदेख प्रमुख खापुङले बुधबार राति नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। उनले संविधानको धारा १६८ (५) अनुसारमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
हिक्मत कार्कीलाई प्रदेश सभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको पनि समर्थन छ। दुई पार्टीका ५२ सांसदको हस्ताक्षरयुक्त समर्थनसहित कार्कीले दाबी गरेका हुन्।
कार्की यसअघि पनि दुई पटक कोशीको मुख्यमन्त्री भइसकेका छन्।
एमाले र माओवादी केन्द्र मिलेर नै मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गर्न भूमिका खेलेका थिए।
अपदस्थ गरिएका केदार कार्की भने कानुनी उपचार खोज्नका लागि काठमाडौं आएका छन्। उनले बिहीबार नै सर्वोच्चमा निवेदन दर्ता गर्ने तयारी गरिरहेका छन्।
Facebook Comment
Comment