निजी क्षेत्रको क्रियाशीलताबिना आर्थिक समृद्धि हुन सक्दैन : मन्त्री भण्डारी

नेपालभ्युज

निजी क्षेत्रको क्रियाशीलताबिना आर्थिक समृद्धि हुन सक्दैन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको विकास र क्रियाशीलता बिना देशको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उनले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको बताएका हुन् ।

सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा मात्र नहेरी प्रमुख हिस्सेदारकै रूपमा व्यवहार गर्ने उनको प्रतिबद्धता छ । मन्त्री भण्डारीले सरकारले नेपालमा उद्योग, व्यापार र लगानीको वातावरण सुधार गर्न आवश्यक नीतिगत, कानुनी तथा कार्यक्रमगत विषयलाई निजी क्षेत्रको सल्लाह, सुझाव तथा समन्वयका माध्यमबाट शीघ्र अगाडि बढाउन चाहेको बताए ।

‘आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन तथा आन्तरिक आयमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न प्रभावकारी नीति लिने, स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवं तुलनात्मक लाभक वस्तुको पहिचान र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी व्यापार घाटा न्यूनीकरण गर्ने जस्ता सरकारको लक्ष्य पुरा गर्न निजी क्षेत्रले गर्दै आएको साझेदारी प्रति म धन्यवाद दिन चाहन्छु ।’ उनले भने ।

मन्त्री भण्डारीले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई सफल पारी स्वदेशी तथा विदेशी लगानीलाई प्रवर्द्धनमार्फत अर्थतन्त्रलाई मजबुत बनाउन अहोरात्र खटिनुपर्ने बेला आएको कुरामा जोड दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved