काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मस्टाभवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा चार सैनिक घाइते भएका छन् । आगो नियन्त्रणका लागि खटिएका नेपाली सेनामध्ये चार जना घाइते भएका हुन्।
आइतबार दिउँसोदेखि वनमा लागेको आगो हावाहुरीका कारण नियन्त्रण बाहिर गएपछि सोमबार देवीदत्त गुल्मबाट नेपाली सेनाको टोली नियन्त्रणका लागि खटिएको थियो ।
सो क्रममा सैनिक जवानहरू २८ वर्षीय हेमन्त रावत, २३ वर्षीय अशिष बुढा, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केशरबहादुर दर्जा मगर घाइते भएको देवीदत्त गुल्मले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार, नेपालगञ्जमा पनि उपचार सम्भव नभए काठमाडौं ल्याएरै उपचार गरिनेछ ।
Facebook Comment
Comment