काठमाडौं। आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिनस्वीप गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको खेलमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ६९ रनले पराजित गरेको हो।
२८५ रनको लक्ष्य मा जवाफी ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा २१५ रनमा अलआउट भएको हो।
नेपाल ‘ए’ का लागि अर्जुन कुमालले शतकीय पारी खेले।
उनले ११८ रनमा १४ चौका प्रहार गर्दै १०२ रनको योगदान गरे। अर्जुन साउदले ३६ रन बनाए। रुपेश सिंह र नरेन भट्टले १५–१५ र देव खनालले ११ रन बनाए।
नेपाल ‘ए’ का ३ खेलाडीले दोहोरो अंक छुन सकेनन्। साहाब आलम ६, कप्तान विनोद भण्डारी ४, विकास आग्री ३, रनमा आउट भए। भीम सार्की र रिजन ढकाल डकआउट भए। रञ्जित कुमार भने १ रनमा अविजित रहे।
आयरल्याण्ड एका लागि बेन ह्वाइटले ५ र ग्याभिन होइले ४ विकेट लिए।
यसअघि आयरल्याण्ड ‘ए’ ले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा २८४ रन बनाएको थियो । आयरल्याण्ड ‘ए’ का लागि स्टिफन डोहेनीले १०७ रन बनाए। उनले १२९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै १०७ रनको योगदान गरे। पिटर मूरले भने ४४ रनको योगदान गरे ।
नेपाल ‘ए’ का लागि भने रिजन ढकाल र रञ्जित कुमारले ३–३ विकेट लिए। विकास आग्री र साहब आलमलले भने १–१ विकेट लिए।
Facebook Comment
Comment