डिलिट गरिसकेको स्ट्याटसविरुद्ध बालेनको मुद्दा, कसुर पुष्टि हुने आधार बिनै अदालतमा अभियोग !

नेपालभ्युज

डिलिट गरिसकेको स्ट्याटसविरुद्ध बालेनको मुद्दा, कसुर पुष्टि हुने आधार बिनै अदालतमा अभियोग !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आलोचना गरेकै भरमा एक कर्मचारीलाई पाँच वर्ष कैद सजाय हुने मुद्दामा हालिएको छ ।

फेसबुक स्ट्याटस लेखेका एक कर्मचारीले पाँच वर्ष कैद सजाय हुने विद्युतीय कारोबार सम्बन्धी मुद्दा लगाइएको हो ।

सरकारी वकिल कार्यालयले काठमाडौं महानगरपालिकाका निलम्बित कर्मचारी रामप्रसाद पौडेललाई विद्युतीय कारोबार सम्बन्धी मुद्दा दायर गरेको हो ।

मेयर शाहमाथि घृणा वा द्वेष फैलाउनुका साथै महानगर र त्यसको नेतृत्वप्रति आमनागरिकमा भ्रम सिर्जना गरेको आरोप पौडेललाई लगाइएको छ । जिल्ला सरकारी वकिलले चैत २० मा दर्ता गरेको अभियोग पत्रमा सोही विषय उल्लेख छ ।

के थियो कसुर ?

काठमाडौं सरकारी वकिलको अभियोग पत्रमा उल्लेख भएअनुसार पौडेलले आफ्नो फेसबुकमा दुइटा स्ट्याटस लेखेका थिए । काठमाडौंका मेयर बालेन शाहले अख्तियारी दिएपछि उनका सचिवालय सदस्य सस्मित पोखरेलले जाहेरी दिएका थिए । लेखेको केही समयपछि पौडेलले उक्त स्ट्याटस डिलिट समेत गरेका थिए ।

पौडेलको पहिलो पोस्टमा लेखिएको छ– ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र निजहरूले दुई वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ । यो नगरवासीले तिरेको कर हो ।’

उनको दोस्रो पोस्ट थियो– ‘उनको नियत नै रहेछ, उटपट्याङ काम गरिरहौँ, आखिर म त लोकप्रिय हुन्छु ? अरू ३ करोड नेपालीलाई सामाजिक सञ्जालबाट मूर्ख बनाउँछु ।’

यी दुई पोस्ट सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री भएको काठमाडौं जिल्ला सरकारी वकिलको ठहर छ । तर, कसरी सार्वजनिक नैतिकता र शिष्टाचारलाई गम्भीर असर गरेको छ भन्ने अभियोग पत्रमा खुलाइएको छैन । न ती पोस्टले कसरी मेयर बालेन र महानगरविरूद्ध भ्रम फैलाए भन्ने व्याख्या छ ।

जानकारहरू भन्छन्, ‘पाँच वर्षसम्मको सजाय माग गर्न उसले गरेको कसुर पुष्टि हुने आधार, प्रमाणको मूल्याङ्कन सही तरिकाले गर्नुपर्छ । तर, यो अभियोग पत्रमा त्यस्तो केही देखिन्न ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved