काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जतिदिन मन्त्री बने पनि डटेर काम गर्ने बताएका छन् ।
नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्न नपाएका गृहमन्त्री लामिछानेले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
शुक्रबारको बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गरेका थिए ।
गृहमन्त्री लामिछानेले कांग्रेसले राजीनामा मागे पनि आफू काम गरिरहने बताए । ‘कांग्रेसको नारा चर्को होला, राजीनामा दे भन्ने होला । म आफ्नो काम गरिरहन्छु । कति दिन मन्त्री हुन्छु मलाई थाहा छैन। जति दिन हुन्छु डटेर गर्छु ।’ उनले भने ।
उनले संसदमा कांग्रेसले उठेका विषयमा जवाफ दिन आफू तयार रहेको पनि बताए ।
यस्तै, लामिछानेले सुन तस्करीबारे जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा भएका विषयवस्तुबारे पुन: छानबिन हुने जानकारी दिए ।
Facebook Comment
Comment