महिला उद्यमीको दुःख : उत्पादनले गोदाम भरियो, बजार पाएन

नेपालभ्युज

महिला उद्यमीको दुःख : उत्पादनले गोदाम भरियो, बजार पाएन

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका-३ तमान गाउँका १५ जना महिलाले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले निरन्तर ढाका बुन्न थाले । तर, आफ्नो उत्पादनले बजार नपाउँदा अहिले निरास छन् ।

उत्पादित ढाकाले गोदाम भरिँदै गएको छ । तर, माग निकै कम हुने गरेको छ । ती सामग्री बेच्न उनीहरु कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्छन् । लाखौंको लगानीका सामग्री गोदाममै थन्किएको उनीहरुको गुनासो छ ।

तमान गाउँको कल्याण आमा समूहले सञ्चालन गरेको उद्योगमा हाल १५ जना महिला आबद्ध छन् । विसं २०७५ मा सङ्गम परामर्श केन्द्र बागलुङले १५ दिने प्रशिक्षण दिएपछि उनीहरुले उद्योग सञ्चालन गरेका हुन् । प्रारम्भमा ४५ हजार रुपैयाँ लगानीमा सुरु गरिएको उद्योगबाट अहिले करिब सात लाख रुपैयाँको सामग्री तयार भएको छ ।

उत्पादनले बजार नपाउँदा आफैंले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताइन् ।

उद्योगबाट ढाकाको सल, टोपी, लुङ्गी, दोसल्ला, खादालगायत सामग्री उत्पादन गर्ने गरेको उनको भनाइ छ । विगतको तुलनामा उत्पादनले बजार पाए पनि सोचेअनुसारको नहुँदा समस्या भएको घर्तीले बताइन् । बिहान–बेलुका घरका कामधन्दा गर्ने र दिउँसोको समय निकालेर उद्योगमा काम गर्दै आएको भन्दै उनले उत्पादनले बजार नपाउँदा दुःख लाग्ने बताउँछिन् ।

उद्योगमा एक जनाले महिनाको ३५-४० हजारको सामग्री तयार गर्ने सुनाउँदै बिक्री नहुँदा एक हजार पनि कमाउन मुस्किल पर्ने उनले गुनासो गरिन् ।

‘फुर्सदको समयमा काम गर्छौं, राम्रो बजार हुन्थ्यो भने पूरै समय दिएर काम गर्ने थियौं । तर, समय निकालेर काम गर्दा पनि धेरै कपडा बनाएका छौं, एक जनाले हजारौंको काम गर्छौं । तर, बिक्री नहुँदा कहिले त एक हजार पनि पाउन मुस्किल छ’, उनले भनिन्, ‘सामानले कोठा भरिएका छन्, कहिलेकाहीँ नजिकैका ग्राहकहरु आएर सामान लैजानुहुन्छ । बजार पाउन गाह्रो भएको छ ।’

समूहमा काम गर्दै आएकी जुनुमाया घर्तीमगरले सुरुमा निकै उत्साहित भएर काम गरेको भन्दै अहिले उत्पादनले बजार नपाउँदा जाँगर मर्दै गएको बताइन् । आफूहरु विस्तारै राम्रो हुँदै जानेमा आशावादी भने रहेको उनको भनाइ छ ।

समय समयमा गाउँपालिकाले प्रयोजनका लागि खरिद गरेर प्रोत्साहन गरे पनि बजारीकरणका लागि पहल हुन नसकेको उनले बताइन् । सरकारले बजारीकरणको व्यवस्थापन गरिदिए अझै धेरै महिलाले यसबाट स्वरोजगार हुने उनी बताउँछिन् ।

उनले भनिन्, ‘गाउँमा घुम्न आउनेले राम्रो लागेर टोपी, लुङ्गी, खादा र दोसल्ला किनेर लैजानुहुन्छ । तर, सोचेअनुसार बिक्री भएको छैन । समय मिलाएर हामी बजारमा पुग्छौं, गाउँमा जान्छौं, मेलापर्वमा अलिअलि बिक्री हुन्छ, बजारको मात्रै समस्या छ, अरु सबै हामीले मिलाएका छौं ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले महिला उद्यमीलाई मेशिनलगायत अन्य सहयोग गरिएको भन्दै बजारीकरणका लागि पहल थालेको बताए । समय समयमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै आएको भन्दै उनले गाउँदेखि शहरसम्म आयातित सामानको बढ्दो प्रयोगले स्थानीयस्तरमा उत्पादित वस्तुले बजार नपाएको बताए ।

उद्यमीलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने उनी बताउँछन् ।

‘पालिकाकोतर्फबाट सुरुमा मेशिन सहयोग गरिएको छ, पालिकाकै सहयोगमा भवन निर्माण पनि भइरहेको छ, उहाँहरुलाई हामीले प्राथमिकताका साथ सहयोग गर्दै आएका छौं । यहाँका उत्पादनलाई हामीले प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘मेला महोत्सवमा सामान बिक्रीका लागि लैजान यातायात खर्च र स्टल खर्च व्यहोर्ने योजना पनि बनाएका छौं, उद्योगलाई थप व्यवस्थित बनाउन पालिकाले अध्ययन गरिरहेको छ ।’ –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved