काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भू-भागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो ।
कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रुपमा सुरुवात गरिएको अभियानलाई नाकाको सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ ।
नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकुन् भन्ने उद्देश्यसाथ सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।
आचार्यले भारतसँग सीमा जोडिएको सुनसरी तर्फको ६२ किलोमिटर नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपी सहितका सुरक्षा निकायका पोष्ट र खुला रुपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने जानकारी दिए ।
प्रजिअ आचार्यले सीमा क्षेत्रको भूमिमा राष्ट्रिय झण्डा फहराउँदा सीमावासी नेपालीमा राष्ट्रियताको भावना थप उच्च हुने विश्वास समेत व्यक्त गरे । सीमावासी सादा पोशाकका पहरेदार भएकाले सीमा सुरक्षा र संरक्षणका सवालमा समेत राष्ट्रिय झण्डा अभियान सार्थक हुने उनको विश्वास छ ।
नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोष्ट समेट हटाइएको जनाएको छ । नाकाका समस्या र स्थानीयका गुनासोबारे दुई देशीय सुरक्षा बैठकमा कुरा उठाउने समेत जनाएको छ ।
नाका क्षेत्रमा भारतीय पक्षले यस अघिबाट नै आफ्नो क्षेत्र लक्षित झकिझकाउ पार्ने र आफ्नो देशको उपस्थिति दर्शाउने क्रियाकलाप गर्दै आएको छ ।
नेपाल तर्फको सुनसरीको भू-भागमा भने राष्ट्रिय झण्डा अभियान सुनसरी प्रशासनको पहिलो कदम हो । जसलाई स्थानीयवासीले प्रसासनको सही निर्णयका रुपमा लिएका छन् ।
Facebook Comment
Comment