काठमाडौं । संघीय संसद्का दुवै सदनले आज बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक मध्यान्ह १२ बजे बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची राखिएको छ ।
यसैगरी परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमस्टेक बडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमतिका लागि प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले ’भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको ’राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले यो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

यस्तै राष्ट्रियसभा बैठकमा सदस्य अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची छ ।
दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ’नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची छ ।
यस्तै विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ’खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ’सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावको प्रस्तुतिसँगै पारित गरियोस् भन्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Facebook Comment
Comment