दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

नेपालभ्युज

दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

काठमाडौं । दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले दादुरा–रुवेला संक्रमणको जोखिम न्युनीकरणका लागि खोप अभियान सञ्चालन गरेको हो ।

आजदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानअन्तर्गत काठमाडौं जिल्लाका पाँच लाख ९७ हजार तीन सय ५ बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौंमा एक हजार ६ सय ७० खोप केन्द्र तोकिएका छन् । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ । काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो ।

गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।

सरकारले खोप लगाउन आग्रह गर्दै खोपकेन्द्रमा आफ्ना बालबालिकालाई लैजान अभिभावकलाई अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved