कांग्रेस महासमिति बैठक: पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल, बिहीवार समापन समारोह

उनले सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने, जलवायु परिवर्तनको विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, क्रियाशिल सदस्यलाई पारदर्शी बनाउनुपर्ने लगायतका विषयमा जोड दिएको बताए।

नेपालभ्युज

कांग्रेस महासमिति बैठक: पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल, बिहीवार समापन समारोह

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरुले राखेका पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ।

बुधवार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा मंगलवार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरुले समूह बनाएर छलफल गरेको बताए । उनले महासमिति बैठकमा महासमिति सदस्यहरुले उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठानिक प्रस्ताव, डा. प्रकाशशरण महतको वर्तमान अर्थतन्त्र भावी सम्भावना कार्यदिशा प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदनका विषयमा समूहगत छलफल भएको बताए ।

उनले देशभरबाट आएका महासमिति सदस्यहरुले प्रतिवेदनमा आफ्नो विचार राखेको जानकारी दिए । उनले गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को हलमा ९० जना सदस्यहरुले सुझाव दिएको बताए । उनले महासमिति सदस्यहरुले नेपाली कांग्रेसले प्रभावकारी भुमिका खेल्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेछुक संस्थाहरुलाई पूर्णता दिनुपर्ने धारणा राखेको बताए ।

उनले सामाजिक न्यायका लागि नेपाली कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने, पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताएको पनि विश्वकर्माले बताए । उनका अनुसार महासमिति सदस्यहरुले आर्थिक स्रोतको सदुपयोग गर्ने विदेशी सहयोग भित्र्याउनुपर्ने, युवा पलायनलाई रोक्न रोजगारी सिर्जना गर्नुपर्ने, उद्योग कलकारखाना स्थापनामा जोड दिनुपर्ने आवाज उठेको पनि बताए ।

उनले सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने, जलवायु परिवर्तनको विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, क्रियाशिल सदस्यलाई पारदर्शी बनाउनुपर्ने लगायतका विषयमा जोड दिएको बताए। बिहीवार दिउँसो २ बजेदेखि समापन समारोह हुने पनि उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved