सिबिफिनले भन्यो– अफवाहको पछि नलागौँ, बैंक तथा वित्तीय संस्थाका सूचक स्वस्थ छन्

नेपालभ्युज

सिबिफिनले भन्यो– अफवाहको पछि नलागौँ, बैंक तथा वित्तीय संस्थाका सूचक स्वस्थ छन्

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा र विश्वसनीयतामा ठेस पुग्ने समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण गरेको छ।

मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौं ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण भएको सिबिफिनले जनाएको छ।

सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशः पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेको सिबिफिनले उल्लेख गरेको छ। सिबिफिनले बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम सञ्चालन हुने गरेको पनि जनाएको छ।

‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानुनबमोजिम आवश्यक कारवाही हुने व्यवस्था छ’, सिबिफिनले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै पुँजी पर्याप्तता अनुपात, तरलता अनुपात, सीडी अनुपात, नगद सञ्चिति अनुपात लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने व्यवस्था छ।’

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु. ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुने व्यवस्था रहेको पनि उसले अवगत गराएको छ।

गत पुस मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल गार्हस्थ्य उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा सञ्जाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सबल रहेको सिबिफिनले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved