काठमाडौं । ७५औँ गणतन्त्र दिवसको अवसरमा भारतीय दूतावासले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासमा मनाइएको कार्यक्रम नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झन्डोत्तोलन गरी भारतको राष्ट्रिय झन्डा फहराएर सुरु गरेका थिए ।
त्यसलगत्तै कार्यक्रममा भारतका माननीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडिओमार्फत प्रस्तुत गरिएको थियो ।
राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिसन बारे चर्चा गरेकी थिइन् ।
कार्यक्रमका दौरान राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेपाली रुपैयाँ ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरे ।
सेवानिवृत्त सैनिकहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गर्यो ।
सो अवसरमै राजदूत श्रीवास्तवले विभिन्न संस्थाहरूलाई पुस्तक उपहारस्वरुप प्रदान गरे । दूतावासले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा ३० वटा संस्थालाई नेपाली १९ लाख रुपैयाँ बराबरको पुस्तक उपहारस्वरुप वितरण गर्दैछ ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे ।

Facebook Comment
Comment