निजी विद्यालयलाई शैक्षिक गुठीमा लगिए आन्दोलन गर्ने चेतावनी

नेपालभ्युज

निजी विद्यालयलाई शैक्षिक गुठीमा लगिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । निजी विद्यालयहरुलाई शैक्षिक गुठीमा लैजान नसकिने सञ्चालकले बताएका छन् ।

आईतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै निजी विद्यालयका सञ्चाहरुले विद्यालय शिक्षा विधेयकले परिकल्पना गरे बमोजिम निजी विद्यालयहरुलाई शैक्षिक गुठीमा रुपान्तरण गर्न नसकिने बताएका हुन् ।

उनीहरुले यसो गर्दा आफूहरुको लगानी डुब्ने र समस्या सिर्जना हुने भन्दै त्यसो गर्न नसकिने बताए ।

उनीहरुले राज्यले गुठी बनाएर पनि निःशुल्क शिक्षा दिन नसक्ने पनि बताएका छन् । बैठकमा बोल्दै उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल(हिसान)का अध्यक्ष रमेश सिलवालले संविधानले समेत शैक्षिक गुठिको परिकल्पना नगरेको भन्दै आफूहरु गुठीमा जान नसक्ने बताए ।

उनले विद्यार्थीले आफू पढ्ने विद्यालय रोज्न पाउने अधिकारको हनन गर्नु नहुने बताए । जनताले गुणस्तरीय शिक्षाको माग गरेका कारण निजी शिक्षा जन्मिएको उल्लेख गर्दै निजी शिक्षा सामुदायिक र सरकारी शिक्षाको परिपुरक भएको उनले भनाइ राखे ।

अध्यक्ष सिलवालले सांसदहरुको छोराछोरी समेत निजी विद्यालयमा पढिरहेका भन्दै निजी विद्यालयहरुको बिरोधमा बोल्नेहरुमाथि समेत प्रश्न उठाए । उनले क्रान्तिकारी कुरा गर्नेका छोराछोरी नै निजी विद्यालयमा पढिरहेको रेकर्ड आफूहरुसँग रहेको उल्लेख गरे ।

त्यस्तै, बैठकमा बोल्दै निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले निजी विद्यालयहरुलाई स्वायत्तता दिनुपर्ने बताए । उनले पाठ्यक्रम, परीक्षा र अनुगमन बाहेकका विषयहरुमा निजी विद्यालयहरुलाई स्वायत्तता दिनुपर्ने भनाइ राखे । उनले निजी विद्यालयहरुले नाफा कमाउनु अपराध नभएको भन्दै नाफा कमाउनु अपराध जस्तो ठान्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एशोसिएशन नेपाल(एन प्याब्सन)का अध्यक्ष पाण्डव हमालले कक्षा १० मा परीक्षा जरुरी रहेको भनाइ राखे । उनले विद्यार्थीको स्तरीयता मापन गर्ने विधि, पद्धति हुनुपर्ने उल्लेख गर्दै यो परीक्षालाई हटाउनु नहुने बताए । निजी विद्यालयहरुलाई मुआब्जा दिएर मात्रै राष्ट्रियकरण गर्नु नहुने भन्दै लगानी र त्यो क्षेत्रमा लगाएको समयको समेत मूल्यांकन हुनुपर्ने उनको भनाइ छ ।

निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)का निःवर्तमान अध्यक्ष टिकाराम पुरीले निजी विद्यालयहरु गुठीमा जान नसक्ने बताए । उनले गुठिमा जाँदा आफूहरुको लगानीलाई व्यवस्थापन गर्न नसक्ने भनाइ राखे ।

उनले गुठीमै गएपनि सरकारले निःशुल्क शिक्षा दिन नसक्ने भन्दै गुठीको कुरा गरेर आफूहरुको लगानी डुबाउने कुरामात्रै भएको भनाइ राखे । उनले निजी विद्यालयहरुलाई गुठीमा लगेमा आफूहरु आन्दोलित हुने चेतावनी दिए।

उनले आन्दोलित हुनुपर्ने अवस्थामा समेत सरकारले कुरा नसुनेमा ऋण तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सांसदहरुको ध्यानाकर्षण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved