काठमाडौं। प्रमुख दलहरूले बालकुमारी घटनामा सरकारले दमन र लापरबाही गरेको भन्दै विरोध गरेका छन् ।
नेपाली कांग्रेसले घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति निकालेर मन्त्री चढेको गाडीमा आगजनी हुनु र त्यसपछि प्रदर्शनकारीको ज्यान जानु दुवै दुखद भएको भन्दै घटनाप्रति कांग्रेसको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै, नेकपा एमालेले पनि बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एक पटक उदाङ्गो भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने बताएका छन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर स्वदेशमा गरी खान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाएर गोली प्रहार गरेको आरोप लगाएका छन् ।
शुक्रबार प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको ज्यानसमेत गएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये चार जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।
घटनाका बारेमा जानकारी दिँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको बताए ।
Facebook Comment
Comment