गुज्रिएको अर्थतन्त्र सुधार हुँदै गएको अर्थमन्त्री डा.महतको दाबी

नेपालभ्युज

गुज्रिएको अर्थतन्त्र सुधार हुँदै गएको अर्थमन्त्री डा.महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् ।

शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । उनले युवाहरुको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताए ।

कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरुले नै सचेतना अभियान चलाउन आवश्यक रहेको उनको भनाइ छ । उनले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताए ।

उनले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए । उनले नेपालभित्रै केही गर्न सकिन्छ भन्ने हिसावमा युवाहरुले सुक्ष्मदृष्टिले हेर्न आवश्यक रहेको भनाइ राखे ।

उनले स्टार्टअप उद्योगका लागि सरकारले बजेटमार्फत सहुलियत समेत दिएको जानकारी गराए । ‘नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरु सो क्षेत्रतर्फ लाग्न आवश्यक छ,’ उनले भने, ‘नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको छ ।’ उनले सरकारले पनि आईटी क्षेत्रको प्रवद्र्धन गर्दै लैजाने बताए ।

उनले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रुपमा सुधार हुँदै गएको दाबी गरे । उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै सरकारले त्यही विषयमा केन्द्रित रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved