‘कान्छो हेडसर’को विद्यालयका विद्यार्थीलाई जाडोमा स्वेटर र शैक्षिकसामग्री 

नेपालभ्युज

‘कान्छो हेडसर’को विद्यालयका विद्यार्थीलाई जाडोमा स्वेटर र शैक्षिकसामग्री 

भरतपुर। नारायणगढ – मुग्लिङ सडकखण्डको मध्यभाग गाइघाटबाट ठाडै उक्लिएपछि करिब एक घण्टाको पैदल यात्रामा पुगिन्छ कमलपुर । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने यो स्थानमा गुरुङ, चेपाङ, दलितलगायतका जातजातिको बसोबास छ ।

मुख्यतया कोदो, मकैको खेती हुने यो गाउँको भिरालो जमिन सधैं हरियाली देखिन्छ । यही भिरालोमा छ राष्ट्रिय आधारभूत विद्यालय । कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा २७ जना विद्यार्थी छन् ।

यी विद्यार्थीका प्रधानाध्यापक हुन् कर्णबहादुर गुरुङ । उनी २५ वर्षका मात्रै भए । गुरुङ सम्भवत नेपाल कै कान्छा हेडसर हुन् । उनलाई चितवनमा कान्छा हेडसरको रूपमा चिनिन्छ ।

शुक्रबार बिहान १० नबज्दै हेडसर कर्णबहादुर विद्यालय बाहिरको बाटोमा बसेर विद्यार्थीलाई स्वागत गरिरहेका थिए । २५ वर्षे हेडसरले विद्यार्थीलाई छोराछोरी भनेर सम्बोधन गर्दथे । विद्यार्थीहरू पनि खुसी भएर सरलाई नमस्कार गर्थे । हेडसरले सबै विद्यार्थीलाई बाहिरै बस्न अनुरोध गरे । मंसिरको पहारिलो घाममा विद्यार्थी पनि खुसी भएर बाहिरै बसे ।

ठिक १० बजेतिर एसओएस बालग्राम भरतपुरका निर्देशक राजेन्द्र लम्साल र बालग्राम अन्तर्गत कै परिवार सवलीकरण कार्यक्रम प्रमुख शारदा पाण्डेसहितको टोली शैक्षिक सामग्री लिएर सोही विद्यालयमा पुगे । लम्साल र पाण्डेले बालबालिकालाई हातैमा झोला र स्वेटर थमाए । विद्यार्थीका ती सामग्रीलाई शिक्षक, शिक्षिका र अभिभावकले समाइदिन सहयोग गरे । झोलामा कापी, कलम, सिसाकलम, ज्यामिती बक्सलगायतका सामग्री थिए ।

जाडोमा लगाउन मिल्ने ऊनीको स्वीटर र शैक्षिक सामग्री पाएर विद्यार्थी खुसी देखिए । बालग्रामको शैक्षिक सामग्री सहयोग कार्यक्रम अन्तर्गत यी सामग्री उपलब्ध गराइएको बालग्रामका निर्देशक राजेन्द्र लम्सालले बताए । भरतपुर महानगरको विकट मानिने यस क्षेत्रमा विपन्न वर्गको बसोबास छ ।

`माध्यमिक शिक्षालाई सरकारले नि:शुल्क गरे पनि पढाइका लागि चाहिने अरु खर्च अरु खर्च जुटाउन यहाँका अभिभावकलाई समस्या छ´, प्रधानाध्यापक कर्णबहादुर गुरुङले भने – `अभिभावकलाई समेत सहुलियत हुनेगरी यसरी शैक्षिक सामग्री र लुगाफाटो सहयोग आउँदा आफ्ना विद्यार्थीलाई स्कुल पठाउन अभिभावकलाई सजिलो हुन जान्छ ।´

विपन्न र सहयोग आवश्यक रहेको ठाउँको पहिचान गरी सहयोग जुटाउँदा सबैलाई फाइदा हुने एसओएस बालग्राम परिवार सवलीकरण कार्यक्रम प्रमुख शारदा पाण्डेले बताइन् । कमलपुरका २७ जना विद्यार्थीलाई शैक्षिकसामग्री र स्वेटर गरेर ८० हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको उनले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved