नजिकबाट हिमाल हेर्न पुनहिल पुग्छन् विदेशी

नेपालभ्युज

नजिकबाट हिमाल हेर्न पुनहिल पुग्छन् विदेशी

बेनी (म्याग्दी) । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ । घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरको भनाइ छ ।

उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रे हुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ । पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारजम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन् ।

घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए। “अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ, केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ”, होटल व्यवसायी गर्वुजाले भने । त्रिचालीस घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ ।

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved