काठमाडौं । मोरङको उर्लाबारीमा तिहारको लक्ष्मी पूजाको रात एक सुन पसलमा भएको आगलागी नियन्त्रण लिने क्रममा घाइते भएकामध्ये उपचाररत थप एक जनाकोे मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो ।
धनुषास्थित जानकीनन्दनी गाँउपालिकाका मरिता आगलागी नियन्त्रणका क्रममा गम्भीर घाइते भएका थिए । मरिताको मृत्युसँगै आगलागीका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
७ जना गम्भिर घाईतेमध्ये ५ जनाको मृत्यु भएको हो ।
घाइते भएर उपचारका लागि काठमाडौं ल्याइएका घरधनी ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा यसअघि नै मृत्यु भइसकेको छ ।
आगलागी नियन्त्रणका क्रममा ४ प्रहरीसहित २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । आगलागी नियन्त्रणमा लिने क्रममा ग्यास सिलिण्डर विष्फोट भएकाले धेरै मानिस घाईते भएका थिए ।
आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।
Facebook Comment
Comment