काठमाडौं । सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजना लगानी गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ ।
सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै निजी क्षेत्रसँग सम्बन्धित सरोकारवालाले सरकारसँग यस्तो माग गरेका हुन् ।
निजी क्षेत्रका तीन छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले वर्तमान अर्थतन्त्रमा आएको समस्या समाधानको लागि सामाजिक सुरक्षा कोषमा जम्मा भएको ४५ अर्बभन्दा बढी रकम उत्पादन, रोजगारी र पूर्वाधार परियोजनाहरुमा लगानी गर्न आवश्यक रहेको बताएका हुन् ।
तीन अध्यक्षले सरकारले सामाजिक सुरक्षा कोष जस्ता रकम संकलन हुने कोषहरुको सम्पूर्ण रकम उत्पादनमुलक क्षेत्रमा लगानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उल्लेख गरे । उनीहरुले सरकारले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी लगाउन पाउने गरी कार्यविधि परिमार्जन गर्न समेत माग गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको भनाइ पनि उस्तै छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि सरकारले कोषमा संकलन भएको रकम उत्पादनमा लगानी गर्नुपर्ने बताए ।
पछिल्लो पाँच वर्षमा योगदानकर्ताबाट सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड जम्मा भएको छ ।
Facebook Comment
Comment