काठमाडौं। अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेटमा नेपालले जापानलाई पराजित गरेको छ। हङकङ क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको हो।
११४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जापान अन्तिम बलमा ४६ रनमा अलआउट भएको हो। जापानको लागि मेगो गावा १७ र सीका सुमीले १३ रन बनाइन् ।
अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । नेपालको लागि संगीता राईले फाइफर पूरा गरिन्। यो उनको टी २० मा नेपालको लागि पहिलो फाइफर हो। उनी प्लेयर अफ द म्याच घोषित भइन्। यस्तै, अस्मिना कर्मचार्य र पूजा महत्तोले २-२ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो। नेपालको लागि रुबिना क्षेत्रीले ३२ बलमा ५ चौका प्रहार गर्दै ३८ रन बनाइन्। काजल श्रेष्ठ १५ र अस्मिना कर्मचार्य १ रनमा अविजित रहिन् ।
कप्तान इन्दु बर्माले २७, पुजा महत्तोले १३ रन र सीता राना मगरले ९ रन जोडिन्। जापानको लागि एलेना कुसुदा नायर्नले २ तथा अयुमी फुजिकावा र मेग ओगावाले १-१ विकेट लिए।
आइतबार हुने तेस्रो स्थानको लागि नेपाल र जापानबीच प्रतिस्पर्धा गर्नेछ। सोही दिन हुने फाइनलमा हङकङ र तान्जानिया आमने सामने हुनेछन्।

Facebook Comment
Comment