बाजुराको बर्बरता

बलिको नाउँमा पशुहत्या गर्न ‘मान्छे पशु भएपछि… (भिडिओ)

बाजुराको बर्बरता मानवीय सभ्यताको कलंक भएको कतिपयको टिप्पणी छ । उनीहरूले भनेका छन्, “यो धर्म हो भने पापचाहिँ कस्तो हो ? मान्छे पशुभन्दा पनि बढी खत्तम भएको दृश्य हो यो ।”

नेपालभ्युज

बलिको नाउँमा पशुहत्या गर्न ‘मान्छे पशु भएपछि… (भिडिओ)

काठमाडौं । सामाजिक सञ्जालमा अहिले बाजुराको पशुहत्याको चर्काे विरोध भइरहेको छ । दशैं सकिए पनि बलिको नाममा दशैंको समयमा गरिएको राँगोको बीभत्स हत्याको भिडिओ भाइरल भइरहेको छ ।

सार्वजनिक भिडिओ बाजुराको बुढीगंगा १० को हो। त्यहाँ पहिलेदेखि यसैगरी नै पशुको ‘हत्या’ गरिँदै आइएको थियो । अहिले सामाजिक सञ्जालको जमाना भएर भाइरल भएको हो । यसअघि पनि भने केही भिडिओ सार्वजनिक भएका थिए तर, खासै भाइरल भएको थिएन ।

भाइरल भिडिओमा सयौंजनाको भीडले राँगोलाई तड्पाइ-तड्पाइ मार्छन् । विचरा ! दानवरूपी मानवहरूको हुलबाट जोगिन त्यो राँगोले सयौं कान्लाहरू नाघ्छ । खुडा बोकेका दानवरूपी मानवहरूले राँगोको घाँटीमा सयौंपटक छियाछिया पारेर हान्छन्, तैपनि उठ्न खोजेको राँगोको घाँटीमा पुन: खुडाहरू बज्रिन्छन् ।

अन्ततः राँगो ढल्छ । एकमुठी धुकधुकी सास बाँकी थियो। अनि घाँटीमा दर्जनौंपटक प्रहार भयो। र, बल्ल टाउको र शरीर अलग भयो । अनि गाउँलेले उत्सव मनाए । एक अबोध पशु मार्न सफल भएकोमा बधाई साटासाट गरे।

हेर्नुहोस् भिडिओ –

 

बाजुराको बर्बरता मानवीय सभ्यताको कलंक भएको कतिपयको टिप्पणी छ । उनीहरूले भनेका छन्, “यो धर्म हो भने पापचाहिँ कस्तो हो ? मान्छे पशुभन्दा पनि बढी खत्तम भएको दृश्य हो यो ।”

त्यसो त नेपालमा धर्मको नाममा पशुहरू मारिनु कुनै अनौठो कुरा होइन, यो शृङ्खला निकै पहिल्यैदेखि चलेको हो । तर, क्रूरतापूर्वक र सार्वजनिक स्थलमा मार्न कानूनत: नै बर्जित छ । तर, बाजुराको यो दृश्य बर्बरतापूर्ण मात्रै नभएर गैरकानूनी भएको टिप्पणीहरू भएका छन् ।

अझ उनीहरूले बाजुराको उक्त पशुहत्याको प्रकृति सामाजिक उद्दण्डता मात्र नभएर धार्मिक पाखण्डता, असभ्यता, अराजकता, अमानवीय रहेको बताउँछन् । यो तर्कमा सहमत हुन्छिन् पशु अभियन्ता स्नेहा श्रेठ ।

“यो बाजुराको घटना धर्म होइन, घोर अपराध हो । बाजुराको यो बर्बरता, मानवीय सभ्यताको कलंक हो। यसरी पशुहत्या गर्ने समाजमा हामी रहेको छौँ भन्दा आफैँलाई लाज लाग्छ ।”

पशु अभियन्ता श्रेष्ठ बाजुराको त्यो घटना पशुबलि नभइ पशुहत्या भएको बताउँछन् । “यो पशुबलि होइन, पशुहत्याव हो,” उनी भन्छिन् ।

त्यसो त कानूनले पनि स्पष्ट भनेको छ । कानूनले क्रूरतापूर्वक र सार्वजनिक स्थलमा पशुबलि दिन बर्जित गरेको छ ।

यसबारे मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ ले स्पष्ट व्यवस्था गरेको छ । यदि कानूनविपरीत भए ३ महिनासम्म कैद र ५ हजारसम्म जरिबाना हुन्छ ।

सर्वोच्च अदालतले पनि पशु कल्याण तथा पशु बलिप्रथाविरुद्धमा निर्देशनात्मक आदेश जारी गरेको छ । तर, त्यसको वास्ता नगरीकन बाजुरामा घटेको घटनाले मानव जगत्‌कै मानवीयतामाथि प्रश्न उठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved