इजरायलमा भिडन्त जारी, रणभूमिमा उद्धार पर्खिरहेका छन् नेपाली

नेपालभ्युज

इजरायलमा भिडन्त जारी, रणभूमिमा उद्धार पर्खिरहेका छन् नेपाली

काठमाडौं। आकाश धुवाँको मुस्लोले धमिलिएको छ। जमिन रक्ताम्य छ। हरबखत गोली प्रहार भइरहेका छन्। रकेट र ठूल्ठूला बम विस्फोटका आवाजले थर्राइरहेको छ। हजारौं रकेटबाट हमला भइरहेको छ।

यो इजरायलको तीन दिन यताको दृश्य हो।

नेपाली समयअनुसार शनिबार बिहान मध्यपूर्वी मुलुक प्यालेस्टाइनको गाजा क्षेत्रबाट इजरायलमा अचानक आक्रमण भयो। ‘गाजा स्ट्रिप’बाट इजरायलमा १० हजार भन्दा धेरै रकेट प्रहार गरिए। स्थलमार्गबाट इजरायलमा घुसेका विद्रोही समूह हमासका सयौं लडाकुले हत्या र आतंक मच्चाए ।

हमासले गरेको त्यो आक्रमणमा सयौं इजरायली नागरिक र सैनिक मारिए। २ हजारभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमा १० जना नेपाली समेत छन्। एकजना नेपाली हराइरहेका छन्।

गाजा क्षेत्रमा पनि इजरायलयको आक्रमणमा ठूलो क्षति भएको छ ।अर्बौं डलर बराबरको भौतिक क्षति भइसकेको छ।  भिडन्त अहिले पनि सकिएको छैन ।

०००

इजरायलमाथि हमासको आक्रमण र गाजामा इजरायलको हमला पहिलोपटक होइन। निरन्तर चलिरहेको छ । लगातार आक्रमण भइरहने भएकाले दुवैतर्फ सयौं बंकर बनाइएको छ।

जनतालाई सुरक्षा सतर्क गराउन इजरायलले साइरन प्रणाली बनाएको छ। कतैबाट बम आक्रमण हुनेबित्तिकै त्यसको प्रभाव पर्न सक्ने क्षेत्रमा ‘साइरन’ बज्छ। घरभित्र रहेकाहरु बंकर (सेल्टर) मा लुक्छन्। बाटोमा हुनेहरू बाटोमै बनाइएको बंकरमा लुक्छन्। हरेक घरमा एउटा बंकर बनेको हुनुपर्ने भवन आचारसंहितामा छ।

अरू देशमा गाडी पार्किङको ठाउँ वा जग्गा खाली छाड्नुपर्ने नियम जस्तै त्यहाँ पार्किङ निजी घर होस् या व्यापारिक भवन सबैमा हुन्छ। घर नै ध्वस्त हुँदा पनि मानिस बाँच्न सक्नेगरी बनाइएको हुन्छ बंकर। रकेट आक्रमणलाई ‘आइरन डोम’ले आकाशमै निस्तेज पार्छ। मानिसको बस्ती नभएको ठाउँमा खस्न लागेको रकेटलाई समुद्र वा खाली ठाउँमा खसाइन्छ।

यस्तो युद्धका बेला बच्चाको हेरचाह गर्ने केन्द्र र स्कुल बन्द हुन्छन्। तर, सवारी, सपिङ मल, अस्पतालजस्ता क्षेत्र खुला हुन्छन्। यसले गर्दा युद्ध चलिरहे पनि धेरै क्षतिको आभाष हुँदैन। तर, शनिबार भने त्यस्तो भएन। गाजा क्षेत्रबाट इजरायलमा अचानक आक्रमण भयो। ‘गाजा स्ट्रिप’बाट इजरायलमा लगातार हजारौं रकेट प्रहार गरिए। स्थलमार्गबाट घुसेका सयौं लडाकुले इजरायलका सैनिक र नागरिकलाई नियन्त्रणमा लिँदै हत्या गरे ।

इजरायल र राजधानी

विश्व शक्ति अमेरिकाको आन्तरिक र विदेश नीतिमा समेत आफ्नो प्रभाव राख्न सक्ने दक्षिण पश्चिम एसियाली मुलुक हो इजरायल। भू-मध्यसागरको पूर्वी तटमा रहेको यो मुलुकको उत्तरपूर्वमा लेबनान र सिरिया छन्। दक्षिणमा अकावा खाडी, प्यालेस्टाइन र दक्षिण पश्चिममा इजिप्ट र पूर्वमा जोर्डन छ। २० हजार ७ सय ७० वर्गकिलोमिटर क्षेत्रफल छ इजरायलको, जनसंख्या ९० लाखभन्दा बढी।

इजरायलको राजधानी जेरुसेलम हो। सबै प्रशासनिक केन्द्र, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, मन्त्रालय जेरुसेलममा छन्। कूटनीतिक निकायका कार्यालय भने तेलअभिवमा छन्। विश्वमै कूटनीतिक नियोग राजधानीमै हुन्छन्। तर, इजरायलमा छैन।

तेलअभिव व्यापारिक सहर हो। जेरुसेलम विवादास्पद भूमि हो। त्यहाँ आक्रमण हुने हुँदा असुरक्षित भन्दै अरू देशले कार्यालय तेलअभिवमा राखेका हुन्। जेरुसेलममा इजरायलकै सरकारी कार्यालय तथा निजी घर छन्।

युद्धको चपेटामा नेपाली

नेपाल र इजरायलबीच जुन १, १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। इजरायललाई मान्यता दिँदै कूटनीतिक सम्बन्ध राख्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र हो।

दुवै छिमेकी भारत र चीनले समेत सम्बन्ध नराख्दा नेपालले लगाएको गुन उनीहरू बिर्सन चाहँदैनन्। सम्बन्ध स्थापनाको आठ महिनापछि नै इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो। नेपालले भने २००७ अगस्टमा दूतावास स्थापना गरेको हो।

इजरायलले नेपालका दक्ष जनशक्तिका लागि प्रशिक्षण दिने काम गर्दै आएको छ। उसले सन् २००१ देखि ‘केअर गिभर’का रूपमा समेत नेपालीलाई काममा लिन थालेको हो। हाल इजरायलमा रोजगारीका सिलसिलामा करिब पाँच हजार नेपाली छन्।

वैदेशिक रोजगारीका सिलसिलामा इजरायलका कृषि फर्ममा काम गर्न पनि नेपाली गएका छन्। कतिपय इजरायलमा पढ्छन् पनि। उनीहरू पनि इजरायली जस्तै युद्धको चपेटामा छन्। उनीहरूको जीउ ज्यान खतरामा छन्।  उद्धार चाहिरहेका छन्। नेपालले कूटनीतिक पहलबाटै आफूहरूलाई स्वदेश फर्काओस् भन्ने आशामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved