उपभोक्ताको हितविपरीत क्रियाकलापमा संलग्नलाई निर्मम भएर कारबाही गर्छौं : मन्त्री रिजाल

नेपालभ्युज

उपभोक्ताको हितविपरीत क्रियाकलापमा संलग्नलाई निर्मम भएर कारबाही गर्छौं : मन्त्री रिजाल

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्ताको अधिकार तथा हितविपरीत कुनै पनि क्रियाकलापमा संलग्नलाई सरकारले कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार दशैं, तिहार, छठलगायत चाडपर्व लक्षित सहुलियत पसलको काठमाडौंमा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

उनले सरकारले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्य योजना तयार गरी निरन्तर बजार अनुगमनसमेत गरिरहेको भन्दै अनुगमनको क्रममा उपभोक्ताको अधिकार तथा हितविपरीत हुने कुनै पनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जोकोहीलाई सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने चेतावनी दिए ।

उनले बजारमा व्यवसायीक क्रियाकलापलाई स्वच्छ,पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्‍याइ उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री रिजालले उपभोक्ताहरूले प्रयोग गर्ने नाप तौल ,गुणस्तर,उपभोग्य मितिका र मूल्यमा सचेत रहन आग्रह गरे ।

उनले सरकारले विगतका वर्षदेखि खाद्य संस्थान, साल्ट ट्रेडिङ, दुग्ध विकास बोर्डमार्फत खाद्य वस्तु तथा खसी बोकासमेत छुट मूल्यमा बिक्री वितरण गर्दै आएको भन्दै यो वर्ष पनि आम उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर खाद्य वस्तुहरूको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याएको बताए ।

‘सरकारले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्य योजना तयार गरी निरन्तर बजार अनुगमनसमेत गरिरहेको छ’, उनले भने, ‘अनुगमनको क्रममा उपभोक्ताको अधिकार तथा हितविपरीत हुने कुनै पनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जोकोही भए नि सरकार निर्मम भई हदैसम्मको कारबाही गर्न पछि पर्दैन ।’

उनले चाडपर्वको समयमा नेपाली बजारमा विभिन्न उपभोग्य वस्तुहरूको खपत बढी हुने गरेको बताए । उहाँले धेरै खपत हुने मौकामा कृत्रिम अभाव सिर्जना  गर्ने, कालोबजारी, मूल्यवृद्धि, मिसावट, म्याद सकिएका र लेवलिङ नभएका सामग्रीहरू बेच्ने जस्ता गैर कानुनी क्रियाकलाप गर्ने तत्त्वहरू पनि बढी सक्रिय हुने हुँदा सरकारले त्यसमा ध्यान दिन जरुरी रहेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved