काठमाडौं। १९औं एसियाली खेलकुदको भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान स्थापित गरेका छन् ।
चीनको चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा बिहीबार भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमान मात्रै बनाए । त्यस्तै उनले कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ किलो वजन उठाउने अर्को कीर्तिमान पनि स्थापित गरेका छन् ।
यसअघि, कुनैपनि नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा जम्मामा ३ सय किलोसम्मको भार वहन गरेका थिएनन् । विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो । उनले उक्त कीर्तिमान केही साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।
स्न्याचमा भने विशालले दोश्रो लिफ्टमा नै १२७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचालेका थिए । त्यस्तै, क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाएका थिए । दोश्रो लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेश्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ केजी तौल लोड गर्न लगाएका थिए । त्यसमा उनी सफल भएनन् ।
नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा अन्तिम दिन शनिबार सागर भण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।
Facebook Comment
Comment