पानीको तापक्रम बढ्दा अमेजनमा सयभन्दा बढी डल्फिन मृत फेला

नेपालभ्युज

पानीको तापक्रम बढ्दा अमेजनमा सयभन्दा बढी डल्फिन मृत फेला

ब्राजिल। गम्भीर खडेरीको चपेटामा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन्। विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन्।

ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दी मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुईवटा मृत डल्फिन फेला परेको जनाएको छ। उक्त ताल यस क्षेत्रका जलचर स्तनधारी र माछाहरूका लागि प्रमुख क्षेत्र हो।

उक्त संस्थाले उपलब्ध गराएको भिडियोमा गिद्धहरूले मृत डल्फिनलाई टिपेको देखाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार हजारौँ माछा पनि मरेका छन्।

त्यस क्षेत्रका तालहरूमा पानीको तापक्रम उच्च रहेका कारण डल्फिन र माछाहरू मरेको हुन सक्ने विज्ञहरूले विश्वास गरेका छन्। टेफे ताल क्षेत्रमा गत सातायता तापक्रम बढेर ३९ डिग्री सेल्सियससम्म पुगेको छ।

गत साता ब्राजिल सरकारको चिको मेन्डेस जैविक विविधता संरक्षण संस्थाले मृत डल्फिनको अनुसन्धान गर्न पशु चिकित्सक र जलचर स्तनधारी विज्ञहरूको टोली पठाएको थियो।

टेफे तालमा करिब एक हजार चार सय डल्फिन रहेको मामिराउआ इन्स्टिच्युटका मिरियम मार्मोन्टेलले बताए। ‘एक हप्तामा करिब एक सय २० जीवजन्तु गुमाइसकेका छौँ, जसले कुल संख्याको पाँचदेखि १० प्रतिशत हिस्सा प्रतिनिधित्व गर्छ,’ उनले भने।

सुक्खा खोलाहरूबाट खोलाकिनारका प्रभावित समुदायहरूले गत सातादेखि डल्फिनका शवहरू फेला पारेका छन्। खडेरीका कारण अमेजनका गभर्नर विल्सन लिमाले शुक्रबार संकटकाल घोषणा गरेका थिए।

करिब ६० हजार जनसंख्या रहेको टेफे सहरका मेयर निक्सन मारिराले खोलाहरू सुकेका कारण केही पृथक समुदायलाई खाद्यान्न सीधै पुर्‍याउन नसकेको बताए।
-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved