काठमाडौं। काठमाडौं महानगरपालिकाले साइकल र ठेला गाडामा सामान राखेर बेच्न रोक लगाएको धेरै भइसक्यो। त्यसरी व्यापार गर्ने व्यवसायीका साइकल र ठेलागाडा नगर प्रहरीले जफत मात्रै गर्दैनन्, बेच्नेहरूमाथि चरम अत्याचार पनि गरिन्छ।
साना व्यापारीको सम्पत्ति लगेर कहाँ राखिन्छ ? के गरिन्छ ? त्यसरी लगेका साइकल र ठेलागाडाको संख्या अहिलेसम्म कति पुग्यो होला ? महानगर आफैँलाई थाहा छैन।
आफ्ना बालबच्चा पाल्नको लागि सडकमा ठेलागाडा राखेर व्यापार गरेर जीविका चलाउने गरिबको सम्पत्ति लगेर महानगरले कवाडको पहाड बनाएको छ।
सडकमा गरिखाने गरिबगुरुवाको साइकल र ठेलागाडा जफत गर्दै सम्पत्ति हरण मात्र गरिँदैन, जरिवाना पनि तिराइन्छ। पाँच सयदेखि पन्ध्र सय वा सामानको करिब २० प्रतिशत बराबर रकम जरिवाना गराइँदै आइएको छ।
महानगरको मेयरमा बालेन शाह आएपछि साइकल र ठेला गाडामा व्यापार गर्न निषेध नै गरिएको छ। व्यापारीले सामान सडकमा बेचून् वा मान्छे कम हिँड्ने गल्लीमा, उनीहरूलाई नियन्त्रणमा लिनैपर्ने जिम्मेवारी नगर प्रहरीलाई दिइएको छ।

महानगरको हस्तक्षेपबाट धेरैको रोजीरोटी गुमेको छ। आम्दानी गुमेपछि कैयौँले खान लगाउन र उपचार गर्न पाएका छैनन्। यस अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई चुनावी बाचा पत्र सम्झाउन ‘सौम्य विद्रोह’ थालेका छन्, ई: अर्थात्, ईसान अधिकारी।
काठमाडौंको सडक र फुटपाथमा व्यवसाय गरिखानेहरूमाथि नगर प्रहरी परिचालन गरेर हिंसा गरेको र विकल्प नदिइ विपन्न नागरिकको उठिबास लगाएको भन्दै उनले आवाज उठाएका हुन्।
उनको आन्दोलन काठमाडौं महानगरपालिकाले लखेटेका सडक व्यापारीको पक्षमा हो। जसको ऋण काढेर किनेका ठेलागाढा, खर्पन, साइकल जफल भयो। रोजगारी गुम्यो, र विपन्न परिवारको उठिबास लाग्यो।
ईःलाई बालेनको पत्र- गरिबको लागि महानगर छ, तर भावुक भएर मात्रै हुँदैन
९ दिनसम्म २०० घण्टा बढी उभिइसकेका छन्, ई, काठमाडौं महानगरपालिकाका मेयर बालेनको कार्यालय अगाडि। उभिएर विद्रोहको अनौठो आन्दोलन गरेका ईःको खुट्टा सुन्निएका छन्। रक्तसञ्चारमा गडबडी भएपछि पैतालाहरू सहनै नसक्नेगरी झमझमाइरहेका छन्। थकानले गले पनि विद्रोहको मुडले उनलाई गलाउन सकेको छैन ।

महानगर प्रहरीहरूबाट प्रताडित सडक व्यापारीका पक्षमा आवाज उठाउँदै उनी आन्दोलनमा होमिएका हुन्। ई: सत्ताको कुर्सीमा बसेकाहरूले आयआर्जनको अवसर निकाल्न नसक्दा सडकमा आश्रितहरू बढेकोले उनीहरूको लागि संर्घष गर्नुपरेको बताउँछन्।
उनी भन्छन्, ‘‘सडकमा कोही रहरले आइपुग्दैन। सडकको किनारमा हाड घोटेर खानेहरू शासकीय अकर्मण्यता र पुस्तैनी गरिबीको दुष्चक्रमा फसेका विपन्नहरू हुन्। उनीहरूको जीवनभन्दा ठूलो शहरको सौन्दर्य हुँदैन।’’
सडकमा गरिखान नदिँदा कतिपय सडकमै हात थाप्ने अवस्थामा पुगेका छन्। उनी भन्छन्, ‘‘कतिपय महँगो ऋण काढेर विदेश जान अभिशप्त छन्। कोही माग्न विवश छन्। उनीहरूले गरी खान पाउनुपर्छ भन्ने माग हो।’’
ईःलाई समर्थन गर्दै ओलीले पनि भने – महानगरबाट गरिब होइन, गरिबी हटाऔं
९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःसँग भएको वार्ता असफल भएको भोलिपल्ट बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
फुटपाथ, बाटो तथा राइट अफ वे मा व्यापार गर्नु गैरकानुनी भएको भन्दै भनेका छन्, ‘यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनीभन्दा अलग होइन।’
बिहान र बेलुकी २/२ घण्टा समय छुट्याउने विकल्पमा पनि सहमत हुन नसक्ने उनले बताएका छन्। यो समयमा पनि बालबालिका, दृष्टिविहीन, बिरामीहरु हिँड्ने तथा आगलागीका घटना हुने भन्दै उनले भनेका छन्, ‘यस्तो आपतकालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरुले अवरोध गर्छन् ।’
को हुन् ई: ?
फेसबुकबाट सुरु भएको एक अभियानले बालुवाटार घेरेको थियो। ०७७ को जेठ अन्तिम साता सयौँ युवा सडकमा ओर्लिएर भनेका थिए– ‘इनफ इज इनफ’ ।
त्यो सञ्जालदेखि सडकसम्म उक्त अभियान हाँक्ने एक थिए, उनै ई:। त्यो बेलामा प्रदर्शनले थप संक्रमण फैलिने जोखिम भएपछि उनी आमरण अनशनसमेत बसेका थिए। ई: कुनै एक विषयमा चर्चामा आउने र हराउने अभियन्ता होइनन्।
उनी निरन्तर देश दुनियाँको अध्ययन गर्न र भुइँमान्छेका दुःख बुझेर खबरदारी गरिरहेका पात्र हुन्।
Facebook Comment
Comment