विनोद चौधरीको वाइवाइ कम्पनीमा आयकरको छापा

नेपालभ्युज

विनोद चौधरीको वाइवाइ कम्पनीमा आयकरको छापा

काठमाडौं। विश्वको धनीको सूचीमा नाम भए पनि विद्यमान ऐनअनुसार कर नबुझाउने आरोप लागेका विवादास्पद व्यवसायी तथा सांसद विनोद चौधरीको भारतको वाइवाइ कम्पनीमा आयकर विभागले छापा मारेको छ। राजस्थानस्थित वाइवाइ कम्पनीको कार्यालयमा कर छलीको आशंकामा त्यहाँका अधिकारीले छापा मारेका हुन्।

आयकर छलेको आशंकामा छापा मारिएको भारतका विभिन्न समाचार माध्यमले जनाएका छन्। मंगलबार दिउँसो जयपुर, दौसा र सिकरमा छापा मार्ने क्रममा चौधरीको कम्पनीमा पनि विभागका अधिकारी पुगेका थिए।

समाचारमा भनिएको छ, ‘‘राजस्थानी मूलका नेपाली डलर अर्बपति चौधरीको कम्पनीमा छापा मारिएको छ।’’

वाइवाइ नुडल्सको नाममा चौधरीले गरेको व्यापारमा कर छलेको आशंका छ। उनले सीजी कर्प ग्लोबलको नाममा त्यहाँ वाइवाइ कारखाना स्थापना गरेका छन्। चौधरीले विदेशमा कमाएको धन नेपाल नल्याएको आरोप छ भने यताको रकम पनि अन्यत्र लगेको आरोप लाग्दै आएको छ।

उनले करमुक्त राष्ट्रहरूमा करोडौँ डलर पुर्‍याएको यसअघि नै पानामा पेपरले खुलासा गरिसकेको छ।

भारतमा सीजी कर्प ग्लोबलको सहायक कम्पनी सीजी फूड इन्डिया प्राइभेट लिमिटेड हो। जुन राजस्थानको अजमेर जिल्लाको रुपनगरमा छ। भारतीय आयकर अधिकारीले सीजी फुड पार्कका अन्य प्रवर्द्धकको स्थानमा पनि छापा मारेका बताइएको छ।

चौधरीका सबैजसो कम्पनीको कारोबारमा सूक्ष्म निगरानी भइरहेको भारतीय समाचार माध्यमले जनाएका छन्। जानकारहरू भन्छन्, ‘‘ चौधरीले राजश्व छल्ने र पुँजी पलायन गर्ने गरेको भन्ने सूचना चुहिएको थियो। राजश्व विभाग कडा रूपमा प्रस्तुत हुन लागेको सुईको पाएपछि उनले आफू भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट रहेको देखाई छानबिनलाई कमजोर बनाउन विभिन्न हर्कतहरू समेत गरेका थिए। तर पनि उनी बच्न सकेनन्। उनको कम्पनीमाथि अनुसन्धान भइरहेको छ।’’

नेपालमा भने उन्मुक्ति

भारतमा व्यापारी चौधरीको कम्पनीमाथि छानबिन अघि बढे पनि नेपालमा शक्तिकेन्द्रकै आडमा उनी बँचिरहेका छन्। राजस्व छलेको र पुँजी पलायनमा संलग्न भएको आरोप लागे पनि उनीमाथि छानबिन भएको छैन।

भारतमा चौधरीको कम्पनीमाथि अनुसन्धान हुँदैगर्दा नेपाल सरकार भने चौधरीबाट गरिँदै आएको अनियमितकाको बारेमा कठोर बन्न सकेका छैनन्। देशको सम्पत्ति धमाधम विदेश लगेर लगानी गरिरहँदा विगत देखिनै सरकार उनीप्रति लचिलो बनेको जानकारहरूको आरोप छ।

सांसदसमेत रहेका चौधरीले विगतमा गैरकानुनी गतिविधि गर्दा पनि पैसा र पहुँचको बलमा उन्मुक्ति पाउँदै आएका छन्।

नक्कली कागजात तयार पारी राजस्व छली गर्ने, नक्कली मूल्यअभिबृद्धि कर (भ्याट) विलमार्फत कारोबार गर्ने तर विभिन्न बस्तु निर्यात गरेको भन्दै सरकारसँग नक्कली विवरण पेस गरी अनुदान सहयोग लिँदै देशको अर्थमन्त्रमै ठूलो नोक्सानी पुर्‍याएको आरोप छ।

नक्कली भ्याट बिल प्रकरणमा उनको नाम विगत देखि नै अग्रपंक्तिमा छ। विगतमा सीजी इलेकट्रोनिक्समा भएको आगलागीमा समेत नक्कली विवरण तयार गरेर आर्थिक हिनामिना गरेको ठहर भई बिमा समितिबाट कारबाही गर्न सरकारले निर्देशन दिएको भए पनि अहिले सम्म उनीमाथि बिमा समितिले कारबाही भने गरेको छैन।

चौधरीको कारखाना नेपालसहित भारत, सर्बिया, साउदी अरेबिया र बङ्गलादेशलगायत अन्य देशमा छ। चौधरीको स्थायी घर भने भारतको राजस्थान हो। नेबिल बैंकमा पनि चौधरीको लगानी छ। विदेशमा लगानी गर्नका लागि चौधरीले विभिन्न समयमा पुँजी पलायन सोही बैंक र हुण्डीमार्फत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

देशभित्रको पुँजी अवैध तरिकाले बाहिर लाने केही व्यापारी सजाय भोगिरहेका छन्। तर, चौधरीले विदेशमा पुँजी लगेको आत्मकथा नामक पुस्तकमा स्विकार्दा समेत सरकारले केही गर्न सकेको छैन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved