घट्न थाले रोजगारीका लागि विदेसिने युवा

चालु आर्थिक वर्षको दोस्रो महिनामा भने वैदेसिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको वैदेसिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

घट्न थाले रोजगारीका लागि विदेसिने युवा

काठमाडौं। पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेसिने युवाहरूको लर्काे हजारौंको संख्यामा देख्न सकिन्छ । मुलुकमा पर्याप्त रोजगारीको अवसरहरू नहुँदा वैदेसिक रोजगारीप्रति युवाहरूको आकर्षण बढ्दै गएको विज्ञहरू बताउँछन् । यद्यपि, चालु आर्थिक वर्षको दोस्रो महिनामा भने वैदेसिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको वैदेसिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा साउन र भदौ महिनामा १ लाख ६ हजार ४५९ जना युवाले श्रम स्वीकृति लिएको वैदेसिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संयुक्त संख्या हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेसिक रोजगारीको लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ हजार ५ सय ७५ रहेका थिए भने दोस्रो महिना अर्थात् भदौमा ५० हजार ८ सय ८४ जना रहेका छन् । विभागको तथ्यांकअनुसार साउनको तुलनामा भदौमा श्रम स्वीकृति लिने युवाको संख्यामा ३३.४० प्रतिशतले गिरावट आएको देखिएको छ ।

वैदेसिक रोजगार विभागको तथ्यांकअनुसार भदौमा संस्थागत रूपमा २७ हजार १७१ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ३ हजार ७०५ जना महिला रहेका छन् भने २३ हजार ४ सय ६६ जना पुरुष रहेका छन् ।

त्यसैगरी, व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ७ हजार ३०५ रहेकोमा १ हजार ६५१ जना महिला छन् भने ५ हजार ६५४ जना पुरुष रहेका छन् । जीटुजीबाट यस महिनामा ८२७ जना विदेश गएकोमा ७२ जना महिला छन् भने ७ सय ५५ जना पुरुष रहेका छन् ।

भदौमा कुल ३५ हजार ३०३ नयाँ श्रम स्वीकृति जारी हुँदा ५ हजार ४२८ जना महिला रहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

कुन–कुन देशमा विदेसिए युवा ?

चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिनामा युनाइटेड अरब इमिरेट्स प्रमुख श्रम गन्तव्यका रूपमा देखिएको छ । वैदेसिक रोजगार विभागको तथ्यांकअनुसार साउनमा ११ हजार ८ सय ७८ जनाले श्रम स्वीकृति लिएका थिए भने भदौमा ११ हजार ७०९ जनाले श्रम स्वीकृति लिएका छन् ।

नेपालीको श्रम गन्तव्यको रूपमा दोस्रो स्थानमा कतार रहेको छ । तथ्यांकनुसार साउन महिनामा कतार जाने नेपालीहरूको संख्या १० हजार ५६१ जना रहेका छन् । त्यसै गरी, भदौमा कतारमा मात्र ९ हजार ७६७ जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसियामा साउनमा ९ हजार २६८ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा ८ हजार १६९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।

साउनमा साउदी अरेबियमा १० हजार ३० जना नेपाली कामदार गएकोमा भदौमा ८ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै, कुवेतमा साउनमा ३ हजार ७ सय १७ जना नेपाली वैदेसिक रोजगारीको लागि गएका छन् भने भदौमा ३ हजार ३६१ जना पुगेका छन् ।

दक्षिण कोरियामा साउनमा २ हजार ४ सय १४ जना पुगेकोमा भदौमा ८ सय ७२ जना पुगेको विभागको तथ्यांक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved