काठमाडौं। संविधान दिवस, गणतन्त्र, दिवस, प्रजातन्त्र दिवसजस्ता अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद सजाय मिनाहा – माफी गरिदिने अभ्यास छ । तर, यस्तो अभ्यासलाई सत्तारूढ दलले दुरुपयोग गर्दा जघन्य अपराधमा दोषी ठहर कैदीले पनि सजाय मिनाहा पाएका छन्।
व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि जेलमै पुगेर नेता कार्यकर्ताले स्वागत गरेका छन्। उनले २०७२ सालमा नेपालगन्जको धमम्बोजी चोकमा खुँडा हानेर मान्छे मारेका थिए।
कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति समेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै कांग्रेस नेताहरूको दबाबमा सरकारले आममाफी सिफारिस गरेको हो।
दाङस्थित घोराही कारागारमा सजाय भुक्तान गरिरहेका ढकाललाई संविधान दिवस पारेर छुटाइयो।
माफी पाएर छुटेका ढकाललाई स्वागत गर्न कारागारको गेटमै तरुण दलका कार्यकर्ताहरू झन्डासहित पुगेका थिए, त्यो पनि गाडीका लावालस्करसहित।
२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल भन्ने योग ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो ।
नेपालगन्ज–८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो। ढकालका अरू सहयोगीहरू भने जेलमै छन्।
यस पटक संविधान दिवसमा मन्त्रिपरिषद्ले सिफारिसलाई राष्ट्रपति कार्यालयले जस्ताको त्यस्तै अनुमोदन नगरेको भन्दै चर्चा गरियो। सरकारले प्रस्ताव गरेकै सङ्ख्यामा जघन्य अपराधका दोषीले सजायबाट उन्मुक्ति नपाए पनि ढकाल जस्तै धेरै ‘हत्यारा’हरूले उन्मुक्ति पाएका छन्।
Facebook Comment
Comment