काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्काबीच एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन्। चिनियाँ रक्षामन्त्री ली साङ्फु तीन सातादेखि नदेखिएको र उनले भियतनामको भ्रमण रद्द गरेकोबारे आशंका गरिएको छ ।
जापानका लागि अमेरिकी राजदूतले चिनियाँ रक्षामन्त्रीलाई भ्रष्टाचारसँग जोडिएको कुनै मामिलाका कारण कारबाही गरिएको हुनसक्ने विषयमा प्रश्न उठाएका हुन् । यसैबीच राजदूत राहम एमानुएलले एउटा ट्विट सन्देशमा लेखेका छन्, ‘चीन सरकारभित्र बेरोजगारीको दर बढिरहेको छ।’
चिनियाँ सरकारमा ‘बेरोजगारी दर’ अति उच्च रहेको तथा धेरै वरिष्ठ सैन्य अधिकारीलाई अवकाशमा पठाइएको व्यङ्यात्मक टिप्पणी उनले गरेका छन् । चिनियाँ राष्ट्रपति सीप्रति बफादार मानिएका ली साङ्फू मन्त्रीस्तरीय बरीयताभन्दा माथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलरमध्ये एक हुन्।
बेइजिङले यस बारे प्रतिक्रिया दिइसकेको छैन । कैयौँ उच्च पदस्थ सैनिक अधिकारीहरूलाई हालै पदबाट बर्खास्त गरिएको छ। रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले जनाएको थियो । रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् । रहम इमानुएलले उल्लेख गर्दै रक्षामन्त्री लीको अनुपस्थितिले उनलाई जिम्मेवारीविहीन बनाइएको पुष्टि गर्न बल मिलेको बताएका छन् ।
‘अमेरिकाका लागि चीनका राजदूत रहेका छिन गङलाई अप्रत्यासित रुपमा बेइजिङ बोलाएर विदेशमन्त्री बनाएको केही महिना बित्न नपाउँदै उनलाई बर्खास्त गरेर वाङ यीलाई पुनः विदेशमन्त्री नियुक्त गरिएको कारण हाल सम्म खुलाइएको छैन । जनरल लीका सम्बन्धमा पनि चिनियाँ सरकारले धेरै कुरा गरेको छैन,’ अमेरिकी राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
यसै साताको प्रारम्भमा रक्षामन्त्रीको अनुपस्थितिलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्तासमक्ष प्रश्न गर्दा त्यससम्बन्धमा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएकी थिइन् । तीन साताअघि जनरल लीको अन्तिम सार्वजनिक उपस्थिति बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरूको सुरक्षा फोरममा भएको थियो । यद्यपि रक्षामन्त्रीहरू केही सातासम्म सार्वजनिक दृष्टिकोणबाट अनुपस्थित हुनु असामान्य होइन ।
Facebook Comment
Comment