आप्रवासीको आगमन बढेपछि ईयू प्रमुख इटाली जाने

नेपालभ्युज

आप्रवासीको आगमन बढेपछि ईयू प्रमुख इटाली जाने

ब्रसेल्स । यूरोपेली संघ (ईयू) का प्रमुख उर्सुला भोन डेर लेयेनले आप्रवासीको आगमन बढेपछि इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग इटालीको लाम्पेडुसा टापुको भ्रमण गर्ने भएका छन् ।

ट्युनिसियाको तटबाट १४५ किलोमिटरको दूरीमा रहेको लाम्पेडुसामा यसै साता तीन दिनमा करिब आठ हजार ५०० जना डुङ्गाबाट ओर्लिएपछि मेलोनीले ब्रसेल्सलाई दबाब कम गर्न आग्रह गरेका छन् ।

ईयूका एक अधिकारीले भोन डेर लेयेनको भ्रमणको पुष्टि गरे पनि विस्तृत विवरण भने दिएका छैनन् । अधिकारीहरूले शुक्रबार उक्त सानो टापुबाट हजारौं आप्रवासीहरूलाई सिसिलीमा स्थानान्तरण गरेका थिए ।

शरणार्थीहरूको आगमनमा भएको वृद्धिले शरणार्थीहरूको लागि यूरोपले कसरी जिम्मेवारी साझेदारी गर्दछ भन्ने बहसलाई पुनर्जीवित गरेको छ ।

इटालीको सबैभन्दा दक्षिणी टापु लाम्पेडुसा लामो समयदेखि उत्तरी अफ्रिकाबाट आएका आप्रवासी डुङ्गाहरूको अवतरण स्थल रहँदै आएको छ । तर ४०० भन्दा कम मानिसका लागि बनाइएको आप्रवासी केन्द्र यो हप्ता अस्तव्यस्त भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार सोमबारदेखि बुधबारसम्म १९९ वटा डुङ्गामा करिब आठ हजार ५०० मानिस आएका छन् । इटालीको कडा दक्षिणपन्थी सरकारका सदस्यहरूमा हजारौं मानिसहरू खुला हावामा सुतेको, परिधिको घेरा नाघेर शहरको चारैतिर घुमिरहेको तस्बिरले आक्रोश उत्पन्न गरेको थियो ।

उप–प्रधानमन्त्री माटेओ साल्भिनीले ती व्यक्तिहरूको आगमनलाई ‘युद्धको कार्य’ भनेका छन् । शुक्रबार मेलोनीले युरोपेली संघलाई मद्दतका लागि थप कदम चाल्न आग्रह गरेका छन् । मेलोनीको बलियो समर्थनमा भोन डेर लेयेनले जुलाईमा ट्युनिसियासँग सम्झौता गरेका थिए । भ्रमणको उद्देश्य उत्तर अफ्रिकी देशबाट अनियमित आप्रवासनको प्रवाहलाई रोक्नु थियो ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved