एसियाली खेलकुदमा सहभागी हुने टोलीको बिदाइ

नेपालभ्युज

एसियाली खेलकुदमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।

चीनको हाङझाउमा हुने प्रतियोगितामा सहभागी हुने टोलीको बिदाइ गरिएको हो। नेपाली खेलाडीहरूले २९ खेलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कुल २५३ नेपाली खेलाडीले सहभागिता जनाउने छन्। १२७ महिला खेलाडी रहेका छन् भने १२६ पुरुष खेलाडी रहेका छन्।

कार्यक्रममा १९ खेलका खेलाडीहरू उपस्थित थिए। अन्य खेलका खेलाडी भने तालिमका क्रममा उपत्यका वा देशबाहिर रहेका छन्। प्रतियोगिताका लागि खेलाडीहरूलाई ३ चरणबाट छनोट गरिएको हो। खेलाडीहरूलाई विगत ३ महिना देखि बन्द प्रशिक्षणमा राखिएको थियो।

नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीहरूलाई बिदाइ गर्दै निडर भएर खेल्न आगह गरे। अध्यक्ष श्रेष्ठले भने,‘हाम्रो खेलाडीहरूमा क्षमता छ। विदेशी खेलाडीहरूसँग प्रतिस्पर्धा गनै दिन सोही स्तरको तालिम प्रदान गर्न पनि आवश्यक हुन्छ। राष्ट्रिय खेलाडीलाई गुणस्तरीय पूर्वाधारको विकास गरी तालिम प्रदान गर्न सके हाम्रो खेलाडीले पदक जित्ने संख्या पक्कै बढ्नेछ।’

असोज १ गते (१८ सेप्टेम्बर) मा टर्च र्यालीमा नेपालको प्रतिनिधित्व दीपक महर्जनले गर्ने राखेपका सदस्य सचिव टंकलाल घिसिङले जनाकारी गराए। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीहरूलाई सहभागितामा समस्या नहोस् भनेर रातो पासपोर्ट प्रदान गर्न पहल भइरहेको पनि जानकारी गराए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा खेलाडीलाई समस्या नहुनेमा आफू विश्वस्त भएको बताए। साथै, खेलाडीहरूले नपाएको पुरस्कार रकमका बारेमा उनले भने, ‘मैले नै घोषणा गरेको पुरस्कार प्राविधिक तथा नितिगत कारणले ढिला भएकोमा क्षमाप्रार्थी छु । नियामवली बनिसक्यो। अर्थमन्त्रीबाट पारित भएको छ। भोलिको क्याबिनेटबाट पास हुनेछ। तपाईंहरू निर्धक्क हुनुस्।’ उनले आफ्नो चीन भ्रमणमा नेपाली खेल क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न पहल गर्ने पनि बताए।

नेपालबाट आर्चरीमा ४, बास्केटबलमा ४, ब्याडमिन्टनमा ८, एथलेटिक्समा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्रिकेटमा १५, क्यानोइङमा १, ई–स्पोर्ट्समा २३, साइक्लिङमा २, फुटबलमा २२, फेन्सिङमा ६, ह्यान्डबलमा १६, गल्फमा ६, जुडोमा ८, करातेमा ८, कब्डीमा १२, रग्बीमा १२, सुटिङमा २, पौडीमा ४, स्क्वासमा ६, तेक्वान्दोमा ११, टेबलटेनिसमा ६, ट्रायथलनमा ४, टेनिसमा ६, भलिबलमा २४, भारोत्तोलनमा ५, उसुमा १२ र कुस्तीमा ४ खेलाडीले सहभागिता जनाउनेछन्।

एसियाली खेलकुद असोज ६ देखि २१ गते सम्म (२३ सेप्टेम्बर देखि ८ अक्टोबर) सम्म आयोजना हुनेछ। प्रतियोगितामा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ। कोभिड–१९ महामारीका कारण एक वर्ष पछाडि सरेको यस प्रतियोगितामा ४ सय ८१ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved