काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले ‘जातीय पहिचानको राज्य बनाइदिने’जस्ता अराजक अभिव्यक्ति दिन नहुने भन्दै उनले आपत्ति जनाएका हुन् ।
पार्टीनिकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए ।
उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्नेसमेत बताए ।
‘काठमाडौंका मेयरले जुन बोल्नुभयो । एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यस्तो अराजक किसिमले बोल्नु हुँदैन । देशको प्रधानमन्त्रीले पनि अराजक किसिमले ‘हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौं’ भनेर भन्न मिल्दैन’, उनले भने, ‘यसरी देश चल्दैन । यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’
नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन सभापति शेरबहादुर देउवालाई आग्रह पनि गरे ।
Facebook Comment
Comment