तेहरान । इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी ६ जना श्रमिकको मृत्यु भएको छ । उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा विस्फोट भएको सरकारी समाचार संस्था इरनाले जनाएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन।
इरनाले भनेको छ, “आइतबार दाम्घानमा कोइला खानीमा विस्फोट हुँदा ६ जना कामदार भूमिगत रूपमा फसेका थिए ।” श्रमिकको सकुशल उद्धारको प्रयास असफल भएको र उनीहरूको शव सोमबार बिहान फेला परेको दूतावासले जनाएको छ ।
इरनाले घटनास्थलमा रहेका अन्य कामदारले भग्नावशेषमुनिबाट आफ्ना सहकर्मीको शव निकाल्ने प्रयास गरिरहेको फुटेज देखाएको छ ।
सन् २०२१ को मे महिनामा सोही खानीमा दुई जना कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१७ मा उत्तरी इरानको आजाद शहरमा कोइला खानीमा भएको विस्फोटमा परी ४३ जना कामदारको मृत्यु भएको थियो ।
Facebook Comment
Comment