स्ट्राइकरको साथै आक्रमणमा विशेष ध्यान दिएका छौँ : मुख्य प्रशिक्षक भिन्सेन्जो

नेपालभ्युज

स्ट्राइकरको साथै आक्रमणमा विशेष ध्यान दिएका छौँ : मुख्य प्रशिक्षक भिन्सेन्जो

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले म्यानमार जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार एन्फाले राष्ट्रिय टोलीलाई बिदाइ गरेको हो। टोली सोमबार म्यानमार जाँदैछ।

कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले भने,‘ तयारी राम्रो भएको छ। शारीरिक र रणनितिक रूपमा फेरबदल गरिएको छ। स्ट्राइकरको साथै आक्रमणमा विशेष ध्यान दिएका छौँ। अत्यधिक गोल गर्ने लक्ष्य छ।’

उनले म्यानमारको खेलमा केहि नयाँ प्रयोग गर्दै सरप्राइज पस्कने पनि बताएका छन्। प्रशिक्षक भिन्सेन्जोले खेलाडीलाई खेल्नको लागि प्रेरणा आवश्यक पर्ने र सोही अनुरूप खेलाडीहरूलाई गुणस्तरीय प्रस्तुतिको आधारमा टोली निर्माण गरेको पनि बताए।

अनन्त तामाङले भने,‘टोलीमा नयाँ खेलाडीको तयारी सोचेभन्दा राम्रो पाएको छु्। सबैजना राम्रो नतिजा ल्याउनको लागि नै खेल्ने छौँ। म्यानमारसँग चुनौती छन् तर खेललाई लिएर आशावादी छौँ।’

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीलाई जितको शुभकामना दिए। उनले टोलीलाई टिमवर्कलाई मुख्य ध्यान दिएर फुटबलफार्फत नेपाललाई विश्वमा चिनाउन आग्रह गरे। नेपालले फिफा विन्डोअन्तर्गत भाद्र २२ र २५ गते म्यान्मारसँग मैत्रीपूर्ण खेल खेल्नेछ। दुवै खेल म्यानमारको याङगुनमा हुनेछ।

फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलको लागि पनि यस मैत्रीपूर्ण खेललाई अभ्यासको रूपमा लिइएको एन्फाले जनाएको छ। मैत्रीपूर्ण खेलको लागि एन्फाले आइतबार नै २३ सदसीय टोलीको घोषण गरेको थियो। नेपालको फिफा वरीयता १७४औँ छ भने म्यानमारको १६०औँ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved