भारतीय मूलका थार्मन सिंगापुरको नयाँ राष्ट्रपति, सिंगापुरी मतदाता उम्मेद्वारको क्षमता हेरेर हाल्छन् भोट

उनी सिंगापुरको राष्ट्रपति हुने भारतीय मूलका तेस्रा व्यक्ति हुन् । यस अघि देवेन नायर र एसआर नाथन सिंगापुरको राष्ट्रपति भइसकेका थिए । तर, उनीहरु संसदबाट निर्वाचित थिए । यसपटक थार्मन शानमुगरातनाम भारी लोकप्रिय मतबाट विजयी भएका हुन् ।

नेपालभ्युज

भारतीय मूलका थार्मन सिंगापुरको नयाँ राष्ट्रपति, सिंगापुरी मतदाता उम्मेद्वारको क्षमता हेरेर हाल्छन् भोट

काठमाडौं । शुक्रबार सम्पन्न सिंगापुरको राष्ट्रपतीय निर्वाचनमा भारतीय मूलका थार्मन शानमुगरातनामले भव्य विजय हासिल गरेका छन् । उनले ७०.४ प्रतिशत मत प्राप्त गर्दा प्रतिस्पर्धी न्याङ्ग कोक सोङ र तान किन लियाङले क्रमशः १५.७ र १३.९ प्रतिशत मत प्राप्त गरेका थिए ।

राष्ट्रपति निर्वाचन लोकप्रिय मतका आधारमा भएको थियो । करिब २७ लाख मतदाता थिए भने करिब २५ लाख ३० हजारले मतदान गरेका थिए । ९३.४१ प्रतिशत मतदान भएको थियो । शानमुगरातनामले १७ लाख ४६ हजार ४ सय २७ मत प्राप्त गरेका थिए ।

शानमुगरातनामको परिवार ४ पुस्ता अघि भारतको तमिलनाडुबाट सिंगापुर बसाइँ गएको थियो । म्यान्डरिन भाषी चिनियाँ र मलेपछि तमिल सिंगापुरको तेस्रो ठूलो समुदाय हो ।

सिंगापुरमा ७५.९ प्रतिशत चिनियाँ, १५.१ प्रतिशत मले छन् । निर्वाचनको नतिजापछि विश्लेषक भन्छन्–‘ सिंगापुरी मतदाताले नश्ल, जाति र भाषाको आधार हैन, उम्मेद्वारको क्षमता र राष्ट्रको आवश्यकताका आधारमा मतदान गरेका छन् ।’

थार्मन शानमुगरातनाम सत्तारुढ पिपुल्स एक्सन पार्टीका पूर्व समर्थक भए पनि स्वतन्त्र उम्मेद्वारी दिएका थिए । थार्मन सिंगापुरको नवौं राष्ट्रपति हुनेछन् । सिंगापुरमा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुन्छ । सन् १९९३ यता सिंगापुरमा राष्ट्रपतिको निर्वाचन लोकप्रिय मतद्वारा गर्न थालिएको हो । त्यसअघि संसदले राष्ट्रपतिको निर्वाचन गर्ने प्रचलन थियो ।

शानमुगरातनामले सिंगापुर सार्वजनिक जीवन राजनीति र प्रशासनमा लामो अनुभव हासिल गरेका छन् । ६६ वर्षिय थार्मनले सन् २००१ देखि चुनाव लड्न थालेका थिए । उनी सन् २००३ देखि २००८ सम्म शिक्षामन्त्री थिए । सन् २००७ मा उनलाई वित्तमन्त्रीको थप जिम्मेबारी दिइएको थियो । सन् २०११ को आम निर्वाचनपछि उनी उपप्रधानमन्त्री थिए । सन् २०२३ को जुलाईमा उनले राष्ट्रपति पदमा स्वतन्त्र उम्मेद्वारी दिने मनसायले पार्टी र सरकारका सबै पदबाट राजीनामा गरेका थिए ।

उनी सिंगापुरको राष्ट्रपति हुने भारतीय मूलका तेस्रा व्यक्ति हुन् । यस अघि देवेन नायर र एसआर नाथन सिंगापुरको राष्ट्रपति भइसकेका थिए । तर, उनीहरु संसदबाट निर्वाचित थिए । यसपटक थार्मन शानमुगरातनाम भारी लोकप्रिय मतबाट विजयी भएका हुन् ।

यो चुनाव एक प्रकारले जाति, नश्ल वा भाषिक समुदायका आधारमा मतदान हुन्छ कि हुँदैन भन्ने बिषयको परिक्षणजस्तो थियो । तर, सिंगापुरी मतदाताले हैन, समुदायको उम्मेद्वार हैन, अनुभवी, योग्य र देशलाई आवश्यक उम्मेद्वार रोजेका छन् ।

शानमुगरातनाम एक राम्रा अर्थशास्त्री पनि हुन् । सिंगापुरको आर्थिक तथा मौद्रिक नीति निर्धारणमा एक दशक यता उनको निर्णायक र सन्तुलित भूमिका रहँदै आएको थियो । शानमुगरातनामको शालिन, बौद्धिक र जवाफदेही व्यक्तित्वलाई सिंगापुरी जनताले मन पराउने गरेका थिए । निर्वाचन परिणामले त्यसलाई पुष्टि गरेको छ ।

शानमुगरातनामको विजयमा प्रधानमन्त्री लि हेसिन लुङले प्रतिक्रिया दिँदै भनेका छन्–‘मतदाताले देशको हित र आवश्यकतालाई राम्रोसँग बुझेका छन् । अहिलेको अवस्थामा उनी देशको राष्ट्रपतिका लागि सबैभन्दा उत्तम व्यक्तित्व थिए ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved