काठमाडौं। भारतीय केन्द्रीय मन्त्रिपरिषद्ले भारतीय वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गरेको छ। मन्त्रिपरिषद् सो उपलब्धिलाई स्पेस एजेन्सीको मात्र नभई राष्ट्रको नै विकास र अन्तर्राष्ट्रिय स्तरमा नै भारतको आरोहणको रूपमा लिएको छ।
गरेको छ। मन्त्रिपरिषद्ले चन्द्रयान–३ मिसनको ऐतिहासिक सफलतापश्चात् राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने घोषणा गरिएको हो।
मन्त्रिपरिषद्ले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ‘इसरो’लाई बधाई दिएको छ। चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने भारत विश्वको पहिलो राष्ट्र बनेकोमा मन्त्रिपरिषद्ले वैज्ञानिक टोलीलाई धन्यवाद दिएको छ। सटिक आकलन गर्दै चन्द्रमामा भएको अवतरण आफैँमा महत्त्वपूर्ण उपलब्धि भएको मन्त्रिपरिषद्ले जनाएको छ।
वैज्ञानिकहरूको प्रशंसा गर्दै मन्त्रिपरिषद्ले भन्यो, ‘हाम्रा वैज्ञानिकहरूले शताब्दीदेखि मानव ज्ञानको सीमालाई फराकिलो गर्न प्रयत्न गर्दै आइरहेका छन्। कठिन अवस्थाको सामना गर्दै चन्द्रमाको दक्षिण ध्रुवमा गरिएको अवतरण हाम्रो वैज्ञानिकहरूको एकाग्रताको प्रमाण हो।’
‘प्रज्ञान’ रोभरले चन्द्रमाबाट पठाएको महत्त्वपूर्ण जानकारीले ज्ञानको दायरालाई फराकिलो बनाउनुको साथै चन्द्रमाको रहस्यमा प्रकाश छर्न र अविश्वसनीय अनुसन्धानको लागि बाटो खुल्ला गर्नेछ।
द्रुत प्राविधिक विकास र नवाचारको युगमा भारतीय वैज्ञानिकहरू ज्ञान, समर्पण र विशेषज्ञताको ज्योतिको रूपमा उभिएको मन्त्रिपरिषद्ले विश्वास व्यक्त गरेको छ। वैज्ञानिकहरूको विश्लेष्णात्मक क्षमताको साथै अन्वेषण र अनुसन्धानप्रतिको प्रतिबद्धताले नै राष्ट्रलाई विश्वमा वैज्ञानिक उपलब्धिहरूमा शीर्ष स्थानमा पुर्याएको मन्त्रिपरिषदले बताएको छ।
मन्त्रिपरिषद्ले महिला वैज्ञानिकहरूको सहभागिताले पनि चन्द्रयान–३ र समग्र भारतीय अन्तरिक्ष अभियानको सफलतामा पुर्याएको योगदानको प्रशंसा गरेको छ। यसले आगामी महिला वैज्ञानिकहरूलाई प्ररेणा प्रदान गर्नेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको दूरदृष्टि र उदाहरणीय नेतृत्वको लागि मन्त्रिपरिषद्ले बधाई दिएको छ। मन्त्रिपरिषद्ले मानव कल्याण र वैज्ञानिक विकासको निम्ति भारतीय अन्तरिक्ष अभियानमा पुर्याएको प्रतिबद्धता तथा योगदानको लागि प्रधानमन्त्री मोदीलाई बधाई दिएको छ। प्रधानमन्त्री मोदीले निरन्तर भारतीय वैज्ञानिकहरूको क्षमताप्रति गरेको विश्वास नै हौसलाको मुख्य स्रोत बनेको मन्त्रिपरिषद्ले जनाएको छ।
गुजरात सरकारको नेतृत्व तथा प्रधानमन्त्रीको रुपमा दुई दशकभन्दा लामो समयमा मोदी चन्द्रयान अभियानसँग भावनात्मक रुपले जोडिएका छन्। पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले चन्द्रयान अभियानको घोषणा गर्दा मोदी गुजरातका मुख्यमन्त्री थिए।सन् २००८ मा चन्द्रयान–१ को सफलतापूर्वक प्रक्षेपणपश्चात, मोदी व्यक्तिगत रुपमा इसरो गएर वैज्ञानिकहरुलाई बधाई दिएका थिए। सन् २०१९ मा भएको चन्द्रयान–२ अभियानमा पनि उनले वैज्ञानिकहरुलाई निर्धक भई अघि बढ्न हौसला प्रदान गरेका थिए।
मन्त्रिपरिषद्ले चन्द्रमामा भएको चन्द्रयान–२ को पदचिन्हलाई ‘तिरंगा प्वाइन्ट’ र चन्द्रयान–३ को अवतरण भएको स्थानलाई ‘शिव–शक्ति प्वाइन्ट’ भनिएको निर्णयलाई मन्त्रिपरिषद्ले स्वागत गरेको छ। दुवै नामले आधुनिकताको गाथालाई समेट्नुको साथै भारतको वैज्ञानिक महत्त्वाकांक्षाको पनि झल्काएको छ।
प्रधानमन्त्री मोदीको ‘जय विज्ञान, जय अनुसन्धान’ भन्ने नाराअन्तर्गत चन्द्रयान–३ को सफलतालाई प्रमाणको रूपमा लिएको छ। यसले वैज्ञानिक अन्तरिक्ष अनुसन्धानसहित रोजगारीको लागि पनि ढोका खुल्ने आशा गरिएको छ।
मन्त्रिपरिषद्ले चन्द्रयान–३ को सफलतालाई नयाँ भारतको उदयको रूपमा व्याख्या गरेको छ। यससँगै सम्पूर्ण भारतीय अविष्कारले पूर्वाधारको विकास, प्राविधिक अर्थतन्त्र र जटिल तथ्याङ्कमा पनि काम गर्नुपर्ने मन्त्रिपरिषद्ले बताएको छ।
अन्ततः चन्द्रयानको सफलतामा संलग्न सम्पूर्णलाई बधाई दिँदै सम्पूर्ण जनताले सन् २०४७ सम्म भारतलाई विकसित मुलुकको रूपमा उभ्याउन मेहनत गर्नेमा मन्त्रिपरिषद्ले विश्वास व्यक्त गरेको छ।
Facebook Comment
Comment