काठमाडौं। इरान र अमेरिकाबीच कैदीबन्दी आदान-प्रदान र इरानको रोक्का गरिएको सम्पत्ति फुकाउ गर्ने बारेमा दुई महिनाको समयसीमा तोकिएको छ ।
सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले तेहरान र वासिङटनबीच कैदीहरू आदान-प्रदान र इरानको रोकिएको सम्पत्ति फिर्ता गर्ने सम्झौता कार्यान्वयनका लागि दुई महिनाको समय निर्धारण गरिएको बताएका हुन् । उनले सम्झौता कार्यान्वयन राम्रोसँग हुने र यो निर्धारित समयसीमाभित्र पूरा हुने आशा गरेको बताए ।
इरानमा सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र महासभाको ७८औं सत्रभन्दा अघि अन्य कुनै स्थानमा संयुक्त राज्य अमेरिकासँग छलफल गर्ने योजना नरहेको बताउँदै उनले इराकलाई ग्यास र बिजुली निर्यातसँग सम्बन्धित इरानको कोषको केही भाग हस्तान्तरण गर्ने प्रक्रिया पूरा भएको र यस प्रक्रियालाई गम्भीरताका साथ अघि बढाउने पनि बताए ।
अगस्टको सुरुवातमा इरान र संयुक्त राज्य अमेरिकाले तेस्रो देशको मध्यस्थतामा एक सम्झौता गरेको बताइएको थियो । जसअन्तर्गत दुई पक्षले मानवीय मुद्दाको रूपमा कैदीहरू आदान-प्रदान गर्ने र अमेरिकाद्वारा विभिन्न स्थानमा अवैधरूपमा अवरुद्ध गरिएका इरानी सम्पत्तिहरू छोड्नुपर्ने सम्झौता भएको थियो ।
Facebook Comment
Comment