काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महत क्यानडा प्रस्थान गरेका छन् । आइतबार राति साढे ९ बजे पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै उनी ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग लिन उनी क्यानडा प्रस्थान गरेका हुन् ।
उनले उक्त कार्यक्रममा भाइस प्रेसिडेन्टको रूपमा सहभागिता जनाउने भएका छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ । सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ ।
अर्थमन्त्री महतसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले पनि क्यानडा प्रस्थान गरेका छन् ।
यस्तै, वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि टोलीमा सहभागी रहेका छन् ।
क्यानडा बसाइको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर–आवासीय नेपाली र अन्य दातृनिकायका प्रतिनिधिसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
Facebook Comment
Comment