काठमाडौं। विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरूमा क्षति पुर्याउने कार्य निरन्तर रूपमा जारी रहेको टेलिकमले जनाएको छ।
यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षबीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएका कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तारसमेत काटी क्षति पुर्याइएको थियो ।
सो सन्दर्भमा टेलिकमका प्राविधिकहरूले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकामा गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल गरिएको थियो ।
परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएमलगायत दुवै पक्षका बीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहोर्याउने सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।
भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइनेसमेत टेलिकमले जनाएको छ ।
Facebook Comment
Comment