काठमाडौं । मनसुन सक्रिय भएका कारण गएराति देशका सबैजसो ठाउँमा ठूलो वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वदेखि पश्चिमसम्म र हिमालीदेखि तराईका जिल्ला सबैतिर गएराति पानी परेको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङको खुदीबजारमा १ सय २३ मिलिमिटर र सिन्धुलीको मरिणमा १ सय २० मिलिमिटर वर्षा भएको छ । यस्तै, नेपालगञ्ज विमानस्थलमा ७० मिलिमिटर वर्षा भएको छ भने बाँकेकै कुशुममा ५०, गोरखाको बारपाकमा ७३ र दाङको शुक्रबारेमा ४३ मिलिमिटर वर्षा मापन भएको छ ।
कस्तो हुनेछ आजको मौसम ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ।
हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक- दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।
Facebook Comment
Comment