सुर्खेत। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शासकीय स्वरूप बदल्नुपर्ने अवस्था आइपुगेको बताएका छन् ।
पार्टीले सञ्चालन गरेको अभियानलाई सम्बोधन गर्न सुर्खेत आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकार सम्मेलनमा शासकीय स्वरूपका कारणले अहिले देशमा विकृति आएको बताए ।
प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने बताउँदै उनले भने, ‘केन्द्रमा प्रत्यक्ष प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री बनाउनुपर्छ । सांसदहरूलाई पनि जातीय कलष्टरअनुसार प्रतिस्पर्धा गराउनुपर्छ ।’
देशमा भएका भ्रष्टाचारका काण्ड बहुदलीय व्यवस्थादेखि घट्ने गरेको भन्दै उनले यसको अन्त्यका लागि अब उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । ‘बहुदलीय व्यवस्था आएदेखि २०४६ सालदेखि अहिलेसम्म काण्डै काण्ड भएका छन् ।’ उनले भने, ‘ती सबैको स्वतन्त्र रुपमा छानबिन गरेर दोषी देखिए सबैलाई कारबाही गरौं ।’
ललिता निवास जग्गा प्रकरणमा आफू प्रधानमन्त्री हुँदा सानो अंशमा केही निर्णय गरेकाले त्यसको छानबिनमा सघाउन तयार रहेको भट्टराईले बताए । ‘म प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा एउटा निर्णय भएको रहेछ ।’ उनले भने,‘यो विषयमा छानबिन भयो भने म सघाउन तयार छु ।’
ललिता निवास प्रकरणमा आफ्नो निर्णयले राज्यलाई हानी नोक्सानी भएको भए आफू त्यसबाट भोग्नुपर्ने सजायका लागि तयार रहेको समेत उनले बताए ।
भट्टराईले अहिले कसैको पूर्ण बहुमत नभएका कारणले गठबन्धन जुनसुकै बेला भत्किन सक्ने अवस्था रहेको उल्लेख गरे ।
Facebook Comment
Comment