रवि लामिछानेको ब्लु बसले बल्ल पायो रुट इजाजत, बसको रंगमा पनि परिवर्तन

“बसको अगाडिको वर्नटमा सेतो लगाएका छौँ। बसको दुवैतर्फ साइडमा धर्सा बनाएर मोडलिङ गर्दै सेतो, पहेँलो, गुलाबी र सिल्भर रङ लगाएका छौँ, जुन बिलबुक र जाँचपास प्रमाणपत्रमा उल्लेख भएको रङ हो,” उनले भने।

नेपालभ्युज

रवि लामिछानेको ब्लु बसले बल्ल पायो रुट इजाजत, बसको रंगमा पनि परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालन गर्ने भनेर उद्घाटन भएको ब्लु बसले बल्ल रंग अनुसारको नयाँ रुट इजाजत पाएको छ ।

यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ नम्बरको सो बसको रङ र रुटको समस्या समाधान गर्दै नयाँ रुटको अनुमति दिएको हो।

कार्यालयका अधिकृत सुरेश चपाईका अनुसार बसलाई कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम गरिएको छ।

“बसले बिलबुक र प्राविधिक जाँच पासबुकमा भरिएको रङ अनुसार कायम गरेर आएपछि हामीले रुट इजाजत पनि परिवर्तन गरिदिएका छौँ,” अधिकृत चपाईले थपे, “अब गाडीको रुट कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम भएको छ।”

सांसद लामिछाने निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा साउन १७ गते घोषणा भएको कार्यक्रममध्येको एक चितवन २ का महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन भएको हो।

बस सञ्चालनका क्रममा रुट अनुमति र रङका बारेमा समस्या रहेको समाचार सार्वजनिक भएपछि यसको आलोचना सुरु भएको थियो। बसधनी भीमबहादुर तामाङले आफूहरूले नबुझेर नै समस्यामा परेको बताए।

“बसको रुट अनुमति वीरगन्जदेखि नारायणगढ–पोखरा–बागलुङ थियो तर हामीले चितवनको भित्री सडकमा चलाउँदा समस्या हुँदैन होला भन्ने सोचेका थियौँ,” उनले भने ।

रङका सवालमा पनि बिलबुकमा भए अनुसार आफूहरूले परिवर्तन गरेको उनले बताए ।

“बसको अगाडिको वर्नटमा सेतो लगाएका छौँ। बसको दुवैतर्फ साइडमा धर्सा बनाएर मोडलिङ गर्दै सेतो, पहेँलो, गुलाबी र सिल्भर रङ लगाएका छौँ, जुन बिलबुक र जाँचपास प्रमाणपत्रमा उल्लेख भएको रङ हो,” उनले भने।

यसअघि बसलाई पूरै नीलो बनाइएको थियो। नीलो मात्रै सञ्चालन गर्न नदिने अडान यातायात कार्यालयले राखेपछि बाध्य भएर रङ परिवर्तन गरिएको हो।

बसधनी तामाङले बसको रुट इजाजत परिवर्तन गर्न गत सोमबार २२ गते निवेदन दिएका थिए निवेदनलाई कार्यालयले १४ नम्बरमा दर्ता गरेको थियो।

कार्यालयले रुट परमिट परिवर्तन गरे पनि रास्वपाले अहिले सञ्चालनमा ल्याइरहेको नारायणगढभन्दा पश्चिम शिवघाटसम्मको रुटमा भने बस सञ्चालन गर्न नपाइने देखिएको छ। यो नयाँ परिवर्तित रुटले नारायणगढभन्दा पश्चिममा नदिएको बताइन्छ।

रास्वपाले घोषणा गरेको कार्यक्रम अनुसारको एम्बुलेन्स मोबाइल क्लिनिक फिर्ता लिइसकेको छ भने नारायणगढ–मुग्लिन सडकमा झरेको पहिरो पन्छाउन खटिएका र्‍यापिड एक्सन टिम (आरएटी) लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ।  गोरखापत्र दैनिकबाट

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved