गौर हत्याकाण्ड: जसपाको घुर्कीले सरकार लर्बरिएला ?

गौर हत्याकाण्डको फाइल खुल्ने भएसँगै सत्तासाझेदार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घुर्की दिन थालेको छ । मधेस प्रदेश सरकारको नेतृत्वसमेत गरिरहेको दलले आन्दोलनको धम्की दिन थालेपछि यो प्रकरणले राजनीतिक कोर्ष नै परिवर्तन हुने त होइन ? भन्ने शंका बढाएको छ ।

नेपालभ्युज

गौर हत्याकाण्ड: जसपाको घुर्कीले सरकार लर्बरिएला ?

काठमाडौं । १७ वर्षअघि भएको ‘गौर हत्याकाण्ड’को फाइल खुल्ने भएसँगै राजनीतिक वृत्तमा नयाँ तरंग आएको छ । गृह मन्त्रालय र हत्याकाण्डमा मारिएका २७ जना माओवादी कार्यकर्ताका परिवारबीच अनुसन्धान गर्ने सहमति भएसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नराम्ररी झस्किएको छ ।

गौर हत्याकाण्डको फाइल खुल्ने भएसँगै सत्तासाझेदार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घुर्की दिन थालेको छ । मधेस प्रदेश सरकारको नेतृत्वसमेत गरिरहेको दलले आन्दोलनको धम्की दिन थालेपछि यो प्रकरणले राजनीतिक कोर्ष नै परिवर्तन हुने त होइन ? भन्ने शंका बढाएको छ ।

जसपा अध्यक्ष यादवले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै उक्त सहमतिमा असन्तुष्टि व्यक्त गरेका छन् । जसपा प्रवक्ता मनिष सुमनले ‘गौर हत्याकाण्डमा माओवादी दोषी रहेको’ बताउँदै आन्दोलनको धम्की दिइरहेका छन् ।

सुशासनको नारा दिइरहेको सरकारले गौर हत्याकाण्डको फाइल खोल्ने तयारी गर्नुलाई ‘ठूलो हिम्मत’ मानिएको छ । तर, सत्ता जोगाउने ध्याउन्नमा प्रधानमन्त्री प्रचण्ड लर्बराउने पो हुन् कि ! भन्ने शंका पनि छ ।

किन झस्कियो जसपा ?

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको पाँच बुँदे सहमतिको पहिलो नम्बरमै उक्त घटनाको विषयमा सो समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने उल्लेख छ ।

जसपाले मुख्यरुपमा विरोध जनाएको बुँदा पनि यही हो । उक्त घटनामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमले २२ पुरुष र ७ महिलासमेत २७ जना वाईसीएल नेता कार्यकर्ताको विभत्स हत्या गरेको थियो । र, पीडित परिवारले यादवसहित फोरमका ६६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगले थप ६४ जनालाई दोषी किटान गरेपछि गौर हत्याकाण्डका अभियुक्तको संख्या १३० पुगेको थियो । तर, अहिले त्यतिबेला उजुरी परेका सबै जसपामा भने छैनन् । कोही कुन पार्टीमा प्रवेश गरेका छन्, कोही कुन !

यदि, सरकार र पीडितबीच भएको सहमति कार्यान्वयन भएमा उपेन्द्र यादवलगायतमाथि पनि छानबिन गरी कारबाही हुनेछ । त्यसैले जसपासँगै हत्याकाण्डसँग सम्बन्धितहरु तर्सिरहेका छन् । र अहिले प्रश्न उठिरहेको छ कि–यदि गल्ती नै नभए सरकारले घटनाको छानबिन गर्ने भन्दैमा जसपा किन झस्कनुपर्यो, तर्सनुपर्यो ?

कसरी भएको थियो हत्याकाण्ड ?

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीको मधेसी मुक्ति मोर्चाले कार्यक्रम राखेका थिए । कार्यक्रम सुरु नहुँदै मञ्च तोडफोड र हिंसात्मक घटना भएको थियो, फोरम कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको हत्या गरेका थिए । मारिनेमध्ये वाईसीएलमा आबद्ध युवा धेरै थिए ।

कतिपय युवतीको बलात्कार भएको र स्तन काटिएको अवस्थामा शव भेटिएको थियो । घटनापछि स्थलगत अध्ययनमा गएको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले तयारीका साथ आएका फोरम कार्यकर्ताले व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अमानवीय र क्रूर तरिकाले हत्या गरेको प्रतिवेदन तयार गरेको थियो ।

उक्त हत्याकाण्डका पीडित परिवारले राज्यका तर्फबाट १०–१० लाख पाए, तर न्याय पाएनन् । हत्यामा संलग्न कसैलाई पनि कारबाही भएन । अहिले सरकार र संघर्ष समितिबीच सहमति भएसँगै पीडितले न्याय पाउने आश गरिरहेका छन् ।

तर, फेरि पनि माओवादीले सरकार जोगाउने लोभमा घटनालाई ढिसमिस त बनाउँदैन ? भन्ने शंका जीवितै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved