काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करीको अनुसन्धानलाई निष्पक्ष बनाउन गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।
सरकारी निकायले बहालवाला मन्त्रीको अनुसन्धान गर्दा निष्पक्ष नहुने तर्क गर्दै उनले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले सरकारले नै संसदलाई अनिर्णयको बन्दी बनाएको आरोपसमेत लगाए ।
बुधवार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद अवरोधको जिम्मा सरकारले नै लिनुपर्ने बताएका हुन् । उच्चस्तरीय छानबिन समिति बनाएर सुन तस्करीको अनुसन्धान गर्दा कसैको हानि नहुने उनको भनाइ छ ।
उनले राजस्व अनुसन्धान विभाग र सिआईबीले मात्रै अनुसन्धानको निष्कर्ष निकाल्न नसक्ने ठोकुवा गरे । सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने उनको भनाइ थियो ।
‘यत्रो सुन काण्ड भएको छ । सम्बन्धित मन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुको सट्टा संसद अवरोधको बाटोमा लैजाने काम भयो’, उनले भने, ‘सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन नि !’
सांसद शर्माले संसद्को राज्य व्यवस्था समितिलाई पूर्णअधिकार दिएर सुन तस्करीको अनुसन्धान गर्न सकिने मत राखे ।
Facebook Comment
Comment